पारदर्शी नभए अब मन्त्री फेर्ने होइन सिधै सरकार: झलनाथ खनाल
काठमाडौँ- नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको निर्णय, निर्देशन र सुझाव अनुसार सरकारले अझै प्रभावकारी ढंगले काम गर्नुपर्ने यदि त्यस्तो नभए सरकारकै बारेमा सोच्नुपर्ने बेला आउने बताएका छन् ।
सरकारको काम र पारदर्शिता राम्रो नभएको चर्चा नभएकै बेला नेता खनालले यस्तो बताएका हुन् । उनले सरकारका काम प्रभावकारी नभएको जनगुनासो बढेपछि सचिवालयको बैठक डाकिएको र बैठकले सरकारका कामकारवाही देखि देशभरीको अवस्थाका विषयमा छलफल गरेकोबारे जानकारी गराएका छन् ।
बिहिबार नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उनले स्वास्थ्य सामाग्री खरिदमा चलेको हल्लाका विषयमा प्रधानमन्त्रीलाई सोध्ने काम गरिएको भन्दै कोरोना विरुद्धका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा लाने र स्वास्थ्य सामाग्री लगयताका सामान खरिद गर्दा अनियमितता भएकोबारे तत्योकाल छानबिन हुनुपर्ने बताएका छन् ।
खनालले औषधी खरिदमा अनियमिता भएको विषयमा आफुलाई पनि धेरै जानकारी नभएको कुरा प्रधानमन्त्रीले बताएको र अन्य धेरै विषयमा आधा जसोको मात्रै जवाफ दिएको बताउँदै अनियमितताबारे खास कुरा खुलाउन नचाहेको बताएका छन् ।
उनले बैठकमा यदि अनियमितता भएको रहेछा भने उनिहरुमाथि कडा भन्दा कडा कारवाही गर्न प्रधानमन्त्रीलाई आफूहरूले निर्देशन दिएको भन्दै नेकपाको कुनै पनि नेताले भ्रस्टाचार गरेको ठहर भए पार्टीले सिधै कारबाही गर्ने बताए ।
कार्यक्रममा नेता खनालले प्रधानमन्त्री ओलीले केहि पनि भएको छैन भन्न नसकेको तर ढाकछोप गर्न खोजेको जस्तो देखिएकोले यसलाई तत्काल छानबिन गर्नुपर्ने बताएका छन् ।
यदि त्यस्तो गर्न सकिएन भने र सरकार प्रभावकारी भएन भने अहिले राष्ट्र लथालिङ्ग हुने बताएका छन् ।
पार्टीभित्र अहिले नै सरकार र मन्त्रीहरुको विकल्पबारे छलफल नभएको तर पार्टीको भावना विपरित गएर कुनै पनि मन्त्रीले काम गरेको भेटिए र सरकारले प्रभावकारी काम गर्न नसके सरकारबारे अलग्गै निर्णय गर्न पार्टी बाध्य हुने पनि दाबी गरे ।
नेता खनालले भने,‘दुइतिहाको बहुत छ । जनताले साथ दिएका छन् । सरकारले पारदर्शी भएर काम गर्नुपर्छ । त्यसो भएन भने पार्टीले गम्भिर निर्णय गर्न सक्छ । सरकारले काम गरेन भने पार्टीले निर्णय गर्छ । हामीले प्रधानमन्त्रलाई भनिरहेका छौ राम्रो काम गर्नुस । पार्टीको सुझाव अनुसार प्रधानमन्त्रीले काम गर्नुपर्छ । त्यो भएन भने विकल्पका कुरा आछन्’ ।