अमेरिका जस्तो देशमा मृत्युको यस्तो ताण्डव - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अमेरिका जस्तो देशमा मृत्युको यस्तो ताण्डव



काठमाडौं- कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढी पीडित अमेरिकामा ९ घण्टाभित्र एक हजार मानिसको मृत्यु भएको छ। योसँगै त्यहाँ यसबाट मृत्यु भएकाकाे संख्या साढे २० हजार नाघेको छ।

नेपाली समय आइतबार बिहान ६ः३० बजेसम्म (वर्ल्डओमिटर) को तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा २० हजार ५ सय ७७ जनाको मृत्यु भइसकेकाे छ।

नेपाली समय शनिबार राति साढे ९ बजेसम्म अमेरिकामा मृतकको संख्या १९ हजार ६ सय ६६ थियो। यस हिसाबले ९ घण्टामै झन्डै हजार जनाको मृत्यु भएको देखिन्छ।

यस्तै अमेरिकामा कोरोनाबाट संक्रमित हुने क्रम पनि तीव्र देखिएको छ। यो खबर लेख्दासम्म त्यहाँ ५ लाख ३२ हजार ८ सय ७९ जना संक्रमित पुष्टि भइसकेका छन्।

अमेरिकापछि कोरोनाले विश्वमा सबैभन्दा बढी मृत्यु इटलीमा भएको छ। अहिलेसम्म त्यहाँ १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ।

संक्रमितको संख्या भने अमेरिकापछि विश्वमा सबैभन्दा बढी स्पेनमा देखिएका छ। त्यहाँ अहिलेसम्म १ लाख ६३ हजार २७ जना संक्रमित भइसकेका छन्।

इटलीमा संक्रमितको संख्या स्पेनमा भन्दा केही कम १ लाख ५२ हजार २ सय ७१ पुगेको छ। मृतकको संख्या भने स्पेनमा अहिलेसम्म इटलीमा भन्दा केही कम १६ हजार ६ सय ६ पुगेको छ।

यस्तै अहिलेसम्म कोरोनाबाट विश्वभर मृत्यु भएकाको संख्या १ लाख ८ हजार ७ सय ७० पुगिसकेको छ। यस्तै विश्वभर संक्रमितको संख्या १७ लाख ७७ हजार ९९ पुगेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ।

कोरोनाबाट संक्रमित भएर पनि उपचारपछि निको हुनेको संख्या पनि विश्वमा निकै छ। अहिलेसम्म निको भएकाको संख्या ४ लाख २ हजार ७ सय ९ पुगेको छ।