कोरोनाविरुद्धको खोप तयार हुन अझै ६ महिना लाग्ने
एजेन्सी- कोरोनाभाइरसविरुद्धको खोप आगामी सेप्टेम्बर महिनासम्म तयार हुने बेलायतमा यसमा जुटिरहेका वैज्ञानिकहरुको टोलीको नेतृत्व गरिरहेकी एक वैज्ञानिकले बताएकी छिन् ।
अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिनोलोजीकी प्राध्यापक साराह गिल्बर्टले शनिबार ‘द टाइम्स’सँग कुराकानी गर्दै खोपले काम गर्ने र आगामी सेप्टेम्बर महिनासम्म यो तयार हुनेमा आफूहरु ८० प्रतिशत विश्वस्त रहेको बताएकी हुन् ।
विज्ञहरुले कोरोनाभाइरसविरुद्धको खोप तयार हुन कम्तिमा १२ देखि १८ महिना लाग्ने बताइरहँदा उनले सो दाबी गरेकी हुन् । ‘अक्सफोर्डको टोलीका लागि यो मात्र अनुमान होइन, किनभने हामी हरेक दिन थप तथ्यांकहरु अध्ययन गर्न पाइरहेका छौँ,’ लण्डनको पत्रिकालाई उनले बताइन् ।
विश्वभर गिल्बर्टको टोलीसहित दर्जनौँ वैज्ञानिकहरु यतिबेला कोरोनाभाइरसविरुद्धको खोप बनाउन जुटेका छन् । बेलायतमा उनको टोली सबैभन्दा अग्रस्थानमा रहेको छ ।
बेलायतमा लकडाउन चौथो हप्तामा प्रवेश गर्दै गर्दा प्रतिबन्धका उपायहरु हटाउन र समान्य जीवनमा फर्कन भ्याक्सिन आधारभूत आवश्यकता बन्न सक्छ । गिलबर्टले आगामी दुई हप्तामा मानिसमाथि खोपको परीक्षण सुरु गरिने पनि जानकारी दिइन् ।
विश्वभर कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख पुग्दै गर्दा उनको यो भनाइ आएको हो । शुक्रबार, बेलायतमा मात्र ९८० जनाले ज्यान गुमाएका छन् । त्यहाँ हालसम्म ८ हजार ९५८ जनाले ज्यान गुमाइसकेका छन् ।
ठूलो मात्रामा खोपको उत्पादन गर्न भने समय लाग्न सक्छ । त्यही भएर गिल्बर्टले अन्तिम नतिजा आउनभन्दा अघि नै उत्पादनका लागि स्रोत परिचालन गर्न छलफल गरिरहेको पनि बताइन् । यसरी आम जनताले अन्तिम नतिजा आउना साथ खोप प्राप्त गर्न सक्नेछन् ।
सबै कुरा ठीक तरिकाले अघि बढ्यो भने यो सम्भव रहेको गिल्बर्टले बताइन् ।