मुख्यमन्त्रीहरूले भने: काठमाडौंबाट एक जना पनि नपठाउनु
काठमाडौं- नेपालमा पछिल्लो साता कोरोना सङ्क्रमित भेटिएका छैनन् । लकडाउन भएको १४ दिन पुगिसकेकोले कतिपयले अब लक्डाउन खुकुलो हुने अनुमान पनि गरे ।
यहि अनुमानसँग एउटा हल्ला पनि चल्यो “अब लकडाउन खुकुलो हुन्छ, सीमापारी अपलात्र नेपालीको उद्दार हुन्छ।” तर यो फगत हल्ला मात्र थियो ।
विश्व स्वास्थ्य संगठनले लकडाउन तत्काल हटाए अर्को महामारी हुने चेतावनी दिईरहेको र सातै प्रदेशका मुख्यमन्त्रीहरूले पनि अर्को दवाव दिएका बेला यस्तो सम्भावना भने हुने कुरै भएन ।
बिहिबार मात्रै सरकारले ‘काठमाडौंमा रहेकाहरूलाई घर पठाउने निर्णय’ स्थानीय तहको चर्को दवावको कारण हठात् फिर्ता गर्नुपरेको थियो । आज पनि प्रधानमन्त्रीसँगको भिडियो कन्फरेन्समा उनीहरूले यहि कुरालाई दोहो-याएका छन् ।
सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले खतराको घण्टी बजाइसकेको भन्दै लकडाउन र सीमाबन्दीमा तलमाथि नगर्न चर्को दवाव दिएको बताइएको छ ।
प्रधामनन्त्री ओलीसँगको भिडियो कन्फरेन्समा मुख्यमन्त्रीहरुले कुनै पनि बाहनामा भारतसँगको सिमानाबाट मान्छे आवतजावत गर्न नदिने र काठमाडौंबाट कुनैपनि हालतमा एक जना मात्र पनि बाहिर नपठाउन कडा दवाव दिए ।
प्रधामन्त्री ओलीले शनिबार मुख्यमन्त्रीहरुसँग चार घण्टा भिडियो कन्फरेन्समा छलफल गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय संयन्त्र बनाउने प्रस्ताव गरेपछि दवावमा रहेका प्रधानमन्त्री ओलीले प्रदेश मुख्यमन्त्रीहरुसँग लामो छलफल गरेका हुन् ।