यी हुन् राहतको नाममा कुहिएको दाल बाड्ने मेयर
रौतहट- कुुहिएको दाल राहतका लागि वितरण गर्न भण्डारण गरेको पाइएपछि बाराको कलैया नगरपालिका वडा नम्बर ७ मा रहेको ‘यादव कोल्ड स्टोर’मा शनिवार शिलबन्दी गरिएको छ । सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवको हो ।
कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकामा गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई कलैया उपमहानगरपालिकाले कुहिएको दाल राहत स्वरुप वितरण गरेको उजुरी परेपछि प्रहरीले अनुसंधान थालेको थियो ।
कलैया मनपा वडा नम्बर २० बस्तपुरमा बितरण गर्नका लागि राखेको दाल ४ बर्ष पुरानो कुहिएको रहेको जानकारी स्थानीयहरुले दिएपछि बाराका सिडिओ रुद्र प्रसाद पण्डितको नेतृत्वमा गएको टोलीले सुरुमा २५ किलोको २५ बोरा दाल नियन्त्रणमा लिएको थियो ।
उक्त दाल यादव कोल्ड स्टोरबाट ल्याएको सूचना प्राप्त भएपछि छापा मार्दा ३ सय ८० बोरा दाल बरामद हुँदा कोल्डस्टोरमा शिलबन्दी गरेको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिएका छन् ।
संकटको घडीमा सहयोग गर्नुको साटो नगरप्रमुख जस्ता व्यक्तिले नागरिकको जीवधनसँग खेलवाड गरेको देखिएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । गोदाममा बरामद दाल परीक्षणका लागि नाप तथा गुणस्तर बिभाग वीरगंजमा पठाउने प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताएका छन् ।
बरामद दाल जाँचमा गुणस्तरहीन ठहरिए मेयर राजेश यादवबिरुद्ध खाद ऐन अन्तर्गत मुद्धा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरी प्रवक्ता मिश्रले जानकारी दिएका छन् ।
मेयर यादव पुर्वसांसद राधेचन्द्र यादवका छोरा समेत हुन् ।
उता कलैया उपमहानगरपालिका वडा नम्बर २२ मा पनि राहतको नाममा कुहिएको चामल बितरण गरिएको स्थानीयले बताएका छन् ।