वृद्धवृद्धा र दिर्घरोगीका लागि थाहा नगरपालिकाको विशेष व्यवस्था

हेटौँडा– वृद्धवृद्धा तथा दिर्घरोगीहरूका लागि मकवानपुरको थाहा नगरपालिकाले विशेष व्यवस्था गरेको छ । उनीहरूले नियमित सेवन गर्ने औषधि सम्बन्धित वडामै पुर्याउने व्यवस्था नगरपालिका आफैले गर्ने भएको भएको हो ।
लामो समय लकडाउनको समस्या भएपछि उनीहरूले सेवन गर्ने औषधी अभाव हुने र नपाइने जस्ता सम्भावित सङ्कटको आँकलन गर्दै यस्तो व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बिरामीहरूले लाग्ने रकम र औषधिको विवरण आफ्नो वडा कार्यालयहरूमा टिपाएपछि नगरपालिकाले अन्यत्रबाट उक्त औषधि झिकाउने व्यवस्था मिलाउने निर्णय गरेको मेयर लबशेर विष्टले जनाएका छन् ।
लामो समयसम्म लकडाउन हुँदा नियमित औषधि सेवन गर्नेहरूको समस्यालाई सहजीकरण गर्न नगरपालिकाले यो कामको सुरु गरेको विष्टले बताएका छन् । ‘सेवन गरिरहेको औषधि स्थानीय क्षेत्रमा नपाउँदा बढेको जोखिमलाई कम गर्न यस्तो कामको थालनी गरिएको हो’ नगरप्रमुख विष्टले बताए ।
लकडाउनका बेला औषधि लिन जान नपाएर नागरिकले ज्यानसम्म गुमाउनु पर्ने हुन्छ त्यसैले वडा मार्फत विवरण सङ्कलन गरी स्वास्थ्य शाखाको संयोजनमा औषधिको व्यवस्थापन गरिने बताइएको छ ।
यसका लागि थाहा नगरपालिकाले वडामा विवरण सङ्कलन गर्ने व्यवस्थाको लागि परिपत्र गरिसकेको बताइएको छ । थाहा नगरपालिकामा मुटुरोगी, मानसिक रोगीलगायतका कडा रोगीहरू रहेका छन् ।

