वीर अस्पतालले समेत भर्ना लिंदैन बिरामी: बाहिरै अलपत्र - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

वीर अस्पतालले समेत भर्ना लिंदैन बिरामी: बाहिरै अलपत्र



काठमाडौं- पेट सुन्निएर छटपटाइरहेका बुबालाई एम्बुलेन्सबाट बिहीबार बिहान वीर अस्पतालको आँगनमा ल्याइपुर्‍याउँदा मकवानपुर पालुङका कमल गोपालीले राहतको सास फेरेका थिए। बुबाको शीघ्र उपचार हुने अपेक्षा गरेका थिए।

तर, देशकै पुरानो र भव्य अस्पतालले बिरामीलाई उपचार गर्नुको साटो भर्नासमेत नगरेर थप यातना दियो। अस्पतालको आँगनमा खुला आकाशमुनि उनका बिरामी बुबा छटपटाएर रात बिताउँदै छन् । निरीह र विवश कमल कुरुवा छन्।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा सागर चन्दले लेखेका छन्।

कमलका बुबा केदारलाई १५ दिनअघिदेखि पेट सुन्निने र दुख्ने समस्या देखिन थालेको थियो । सुरुमा उनीसहित परिवारका सदस्यले सामान्य ठाने । तर, हिँडडुलसमेत गर्न नसक्ने गरी दुख्न थालेपछि चार दिनअघि पालुङकै स्थानीय अस्पतालमा लगे।

त्यहाँको अस्पतालले काठमाडौं लैजान सुझायो । लकडाउनका कारण यातायात ठप्प थियो, त्यसैले घरमै फर्किए । तर, बुबाको समस्या बढ्दै जान थालेपछि कमलले बिहीबार एम्बुलेन्सबाट उनलाई काठमाडौं ल्याए।

‘बुबाको पीडा बढ्दै जान थालेपछि आज बिहान पाँच हजार तिरेर एम्बुलेन्सबाट यहाँ ल्याएको हुँ,’ साँझ वीर अस्पतालको आँगनमा भेटिएका उनले भने ।

बिहान साढे १० बजे वीर अस्पताल पुग्नेबित्तिकै कमलले बुबालाई आकस्मिक कक्षमा लगे। तर, त्यहाँका डाक्टरले टिकट काटेर डाक्टरलाई देखाउन भन्दै ओपिडीतर्फ पठाए । टिकट काटेर पालो कुर्दै उनी बुबालाई लिएर डाक्टरसम्म पुगे।

डाक्टरले भिडियो एक्सरे र इसिजी गर्न तथा रगत र पिसाब जाँच गर्न सिफारिस गरे । केही औषधी पनि लेखिदिए । यी सबै गर्दा दुई हजार पाँच सय खर्च भयो ।

तर, अन्तिममा डाक्टरले भने ‘भोलि दिउँसो दुई बजे आउनू । रिपोर्ट आउँछ अनि मात्रै के भएको हो, थाहा हुन्छ ।’ बिरामी बुबालाई भर्ना गरिदिन कमलले डाक्टरसँग हारगुहार गरे । तर, केही लागेन।

कमल फेरि आकस्मिक कक्षमा गएर गुहार मागे । ‘बिरामी बुबालाई भर्ना गर्दिनुहोस्’ भन्दै बिन्ती गरे । लकडाउनका कारण कतै जान पनि नसक्ने समस्या पनि सुनाए । तर, पनि उनको कुरा कसैले सुनेनन्।

‘बाहिर कुर्ची, बेन्चमा बस्नुस्, भर्ना गर्न मिल्दैन भनेर पठाए,’ निरीह देखिएका कमलले भने, ‘बुबा पीडाले एक पाइला पनि सार्न सक्नुहुन्न, एम्बुलेन्समा त उहाँलाई च्यापेर ल्याएको हुँ, यो खुला आकाशमुनि कसरी रात बिताउने होला ?’

तर, कमलसँग अर्को विकल्प पनि थिएन । त्यसैले अस्पतालको आँगनमा रहेको काठको बेन्चमाथि झोला सिरानी राखेर बुबालाई पल्टिन लगाएका छन्, भोलि (शुक्रबार) दिउँसो रिपोर्ट आउने प्रतीक्षामा।