गगन थापाले भने: सांसदको भत्ता काटौं, सुरक्षाकर्मीको बढाऊँ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

गगन थापाले भने: सांसदको भत्ता काटौं, सुरक्षाकर्मीको बढाऊँ



काठमाडौं- नेपाली कांग्रेसका युवा नेता तथा संसद गगन थापाले सांसदको तलवभत्ता कटौती गरी संकटका बेला खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबभत्ता लगायतका सुविधा बढाउन प्रस्ताव गरेका छन्।

नेपाल प्रहरीका अधिकृतभन्दा माथिका अधिकारी र केही स्थानमा स्वास्थकर्मीको पनि तलब काटेर कोरोना कोषमा जम्मा गर्ने निर्णयको विरोध भइरहेका बेला नेता थापाले यस्तो प्रस्ताव गरेका हुन्।

उनले महासंकटको बेला खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउनका लागि तलबभत्ता, सुविधा र सुरक्षा बढाएर उनीहरुको मनोबल बढाउने प्रस्ताव गरेका हुन्।

‘महासंकटको यो घडीमा, हामी सांसदलगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको तलबभत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउने प्रयास गरौं’, बिहीबार साँझ सामाजिक सञ्जाल ट्विटरमा नेता थापाले लेखेका छन्।

प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले बुधबार अधिकृत तहका प्रहरीको ३ देखि ७ दिनसम्मको तलब काटेर कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएको थियोे। त्यस्तै धरान लगायतका स्थानमा सुरक्षाकर्मीबाट समेत कोरोना कोषका लागि रकम मागिएको थियो। यसको चौतर्फी रुपमा विरोध हुँदै आएको थियो।