७५० परिवारलाई घोडाघोडी नगरपालिकाद्वारा राहत वितरण

विशाल पाण्डेय/ कैलाली
कोरोना भाईरसको संभावित संक्रमण रोक्नको लागि गरिएको लकडाउनबाट प्रभावित भएका ७ सय ५० घर परिवारहरुलाई घोडाघोडी नगरपालिकाले राहत वितरण गरेको छ ।
लामो समयदेखिको लगातारको लकडाउनले दैनिक ज्यालादारी गरेर खाने गरिव तथा मजदुर परिवारहरुलाई विहान वेलुकाको छाक टार्न समस्या परेको भन्दै नगरपालिकाले १२ वटै वडामा पहिलो चरण राहत सामग्री बाँढेको घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत उमेशराज रेग्मीले जानकारी दिए ।
अधिकृत रेग्मीले नगरपालिकाले प्रती घर परिवारलाई १५ केजी चामल, २ केजी दाल, १ किलो नुन , १ लिटर खाने तेल, साबुन लगायतका खाद्यान्न वितरण गरेको बताए ।
प्रत्येक वडामा जनप्रतिनिधि लगायतको टिम बनाएर स्थलगत रुपमा अनुगमन गरि अति बिपन्न परिवारको विवरण संकलन गरेर राहत दिईएको घोडाघोडी नगरपालिका वडा नं ८ का अध्यक्ष भिम बोगटीले बताए ।
लगातारको लकडाउनले दैनिक ज्यालादारी गरेर खाने परिवारहरुलाई विहान वेलुकाको छाक टार्न समस्या परेका परिवारहरुको प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा विवरण संकलन गरि राहत वितरण गरेको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले बताए ।उनले अति विपन्न परिवारलाई परिवारको संख्या अनुसार प्याकेज बनाएर पहिलो चरणमा राहत वितरण गरेको र आवश्यक परेपछि पुनः वितरण गरिने बताए ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाले संचालनमा ल्याएको करिब ३५ बेडको क्वारेन्टाइनमा १६ जना बसिरहेको घोडाघोडी नगरपालिकाका नगर प्रमुख चौधरीले बताए । नगर प्रमुख चौधरीले नगरपालिकामा हुन सक्ने सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि १३ बेडसहितको सुरक्षा तथा परामर्श केन्द्र स्थापना गरेको जानकारी दिदै भारतबाट आएका मानिसहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्नको लागि आग्रह समेत गरिरहेको जानकारी दिए ।
लकडाउनमा मजदुरी गर्न नपाएका विपन्न नागरिकलाई नगरपालिकाको राहतले निकै सहयोग पुर्याउने विश्वास गरिएको छ भने अर्कोतिर अति विपन्न परिवारले राहत नपाइ हुनेखानेले पो पाउने हो कि भन्ने चिन्ता बढेको छ । यसको लागि सबै मिलेर अनुगमन गर्न जरुरि रहेको छ।
नगरपालिकाद्धारा बटुकहरुलाई खाद्यान्न वितरण
जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको धार्मिक स्थल घोडाघोडी मन्दिरमा बसोबास गर्दै आइरहेका बटुकहरुलाई खाद्यान्न वितरण गरिएको छ । घोडाघोडी नगरपालिकाले मंगलबार चामल, दाल लगायतका खाद्यान्न वितरण गरेको हो । लामो समयको लक डाउनले बटुकहरुलाई खाद्यान्नको अभाब भएपछि नगरपालिकाले खाद्यान्न वितरण गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उमेश राज रेग्मीले बताए ।
मन्दिरमा पुजा पाठ हुँदा भक्तजन तथा अन्य संघसंस्थाहरु बाट आउने सहयोगले खाद्यान्नको जोहो गरेपनि अहिले लकडाउनले गर्दा खाद्यान्न अभाव भएको संस्कृति वेद विद्या आश्रमका प्राध्यानध्यापक शंकर सन्ज्यालले बताए । सन्ज्यालले विपदको बेलामा नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको भन्दै धन्यवाद व्यक्त गरे ।
खाद्यान्न वितरण कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी , उप प्रमुख प्रेम कुमारी थापा लगायतको उपस्थिति रहेको थियो । घोडाघोडीमा करिब ३५ जना बटुकहरु बसोबास गरि संस्कृत अध्ययन गरिरहेका छन् ।
सहकारीद्बारा राहत वितरण
घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको घोडाघोडी सामुदायिक बिद्युत सहकारी संस्थाले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । कोरोना भाईरसको संभावित संक्रमण रोक्नको लागि गरिएको लकडाउनबाट प्रभावित परिवारहरुलाई सहकारीले खाद्यान्न वितरण गरेको हो ।
घोडाघोडी सामुदायिक बिद्युत सहकारी संस्थाका अध्यक्ष भिम बढुवालले वडाका वडाध्यक्षको रोबहरमा घरमै पुगेर चामल, दाल, नुन,तेल, साबुन वितरण गरिएको बताए । उनले हाल वडा नं ८ र ७ मा ९ घर परिवारलाई राहत वितरण गरिएको र अन्य वडामा पनि वडा अध्यक्षको रोबहरमा राहत वितरण गर्ने बताए ।
बडुवालले नगरपालिकाले बनाएको मापदण्ड अनुसार करिब ५० परिवारलाई खाद्यान्न बितरण गर्ने जानकारी दिए । उनले दिनभरी मजदुरी गरि खाने अति विपन्न परिवारहरु धेरै समस्यामा परेको सुन्न आएको हुँदा विपत्तिमा थोरै भएपनि संस्थाले सहयोग गर्न लागेको बताए ।

