सरकार भन्छ: १४ दिन भारतमै क्वारेन्टाइनमा पसेपछि मात्रै नेपाल आउन दिने - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

सरकार भन्छ: १४ दिन भारतमै क्वारेन्टाइनमा पसेपछि मात्रै नेपाल आउन दिने



काठमाडौं- कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सीमामा बसेकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर मात्रै सीमा पार गर्न दिने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको बैठकले नेपाल-भारत सीमामा रहेकाहरुलाई अप्ठ्यारो पर्न नदिने गरी दुवै तर्फबाट आपसमा सहयोगका साथ सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर मात्रै सीमा पार गर्न दिने गरी व्यवस्था मिलाउने निर्णय गरेको हो।

त्यस्तै, खाद्यान्न लगायतका अत्यावश्यक उद्योगहरुभित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

उद्योगभित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यसको व्यवस्था मिलाउने निर्णय भएको उनले बताए। बैठक खाद्य सामग्री तथा इन्धनको ढुवानीमा अझै सहज बनाउने निर्णय गरेको उनले बताए।

मन्त्री खतिवडाले तामाकोशी, मेलम्ची लगायत ठूला आयोजनामा काम गर्ने कामदारले उद्योगभित्र नै व्यवस्था मिलाई काम गर्न सकिने बताए।

त्यस्तै बैठकले हिँउदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि कृषि श्रमिक नल्याई परिवारलाई मात्रै काम गर्न सक्ने निर्णय पनि गरेको छ।

बैठकले अत्यावश्यक औषधि, दैनिक उपभोग्य सामग्री तथा खाद्य सामग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिने निर्णय भएको खतिवडाले जानकारी दिए।