कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै लिइने - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै लिइने



काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ।

विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए।

बोर्डले गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने तर स्थगित भएको परीक्षा यही मङ्सिर ९ गतेबाट सञ्चालन गर्दैछ । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

बोर्डले झन्डै ५० जिल्लाका परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र परीक्षा हेर्ने कर्मचारीलाई कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमुखीकरण कार्यक्रम जारी राखेको छ । केही दिनमा सबै जिल्लाको अभिमुखीकरण सकिने र परीक्षा सञ्चालन गरिने जनाइएको छ।

बोर्डले विद्यार्थीलाई भौतिक दूरी कायम गर्दै परीक्षा लिन सम्बद्ध विद्यालयलाई निर्देश गरेको छ । परीक्षाको दूरी कायम गर्न केही विद्यालयले समस्या भए नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गरेर भए पनि परीक्षा लिने गरी बाटो खुला गरिएको जानकारी बोर्डका अध्यक्ष पौडेलले दिए।