फोरम नेताले गरे ११ प्रदेशको माग - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

फोरम नेताले गरे ११ प्रदेशको माग



काठमाडौं। सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामप्रसाद रिजालले मुख्यमन्त्रीहरुभन्दा सिडिओ नै शक्तिशाली भएकोले संघीयता नै धरापमा पर्ने खतरा औंल्याएका छन् ।

नेता रिजालले भने,‘संविधानमै मुख्यमन्त्रीहरुलाई अधिकारविहिन बनाईएको छ । संघीयता आयो भनेर हर्ष र बढाईमात्रै गरेर हुँदैन, अहिले मुख्यमन्त्रीभन्दा सिडिओ नै शक्तिशाली छन् । त्यसैले नाममात्रको र अधिकारविहिन संघीयताको काम छैन । यदि संघीयतालाई कार्यान्वयन गर्ने हो भने अधिकारसम्पन्न प्रदेशहरुको निर्माण हुनुपर्छ ।’

विद्यमान ७ प्रदेशले मुलुकको बहुपहिचानलाई सम्बोधन गर्न नसक्ने उनको गुनासो छ । उनले थपे,‘त्यसैले बहुपहिचानलाई आत्मसात् गर्दै अहिले भएका ७ प्रदेशलाई बढाएर ११ प्रदेश बनाउनुपर्छ । मधेशमा २, पहाडमा ८ र केन्द्रमा १ गरि ११ प्रदेश बनाउनुपर्छ । यसो गरियो भनेमात्रै मुलुकमा संघीयता कार्यान्वयन हुन्छ ।’

प्रदेशका नामहरु जातीय पहिचानलाई स्वीकार गरेर राखिनुपर्ने उनको धारणा छ । उनले भने,‘प्रदेश नम्बर एकको नाम किराँत, २ नम्बर प्रदेशको मधेश राख्नुपर्छ । यसैगरि अन्य प्रदेशहरुको पनि नामाकरण गर्दा जातीय पहिचानलाई केन्द्रविन्दुमा राख्नुपर्छ ।’

आफ्नो पार्टी संविधान संशोधन गराउने मुख्य उद्देश्य बोकेर नै वर्तमान सरकारमा सहभागी भएको नेता रिजालले जिकिर गरे । उनले भने,‘संविधान संशोधन गराउनु हाम्रो मुख्य उद्देश्य हो । यदि सरकारमा जाँदापनि संविधान संशोधन हुन सकेन भने हामी सरकारमा बसिरहनुको कुनै अर्थ हुँदैन् । अब संविधान संशोधन गर्न धेरै ढिलाई गर्नुहुँदैन् । पार्टी नेतृत्वले बेलैमा सोच्नुपर्छ ।’