संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै काठमाडौँ विरोध प्रदर्शन
हिमाल पोष्ट / काठमाडौँ, १७ मङ्सिर । नेकपा (एमाले) निकट अनेरास्ववियुले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव अविलम्ब फिर्ता लिन माग गर्दै आज देशभरका सरकारी क्याम्पस अगाडि धर्ना दिएको छ ।
सो प्रस्ताव देश र जनताको पक्षमा नरहेकाले त्यसलाई फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले अनेरास्ववियुले क्याम्पस क्षेत्र वरपरका सडकमा चक्काजाम, विरोध प्रदर्शन तथा सभासमेत गरेको हो ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो प्रस्तावले पहाड र तराईका जनताबीचको एकतालाई फुटाउने हुँदा त्यस्तो राष्ट्रघाती गतिविधिको विरुद्ध सबै नागरिकलाई एकताबद्ध गरी अगाडि बढ्ने बताउनुभयो ।
उहाँका अनुसार संविधान संशोधनको प्रस्तावविरुद्ध रहेका अन्य विद्यार्थी सङ्गठनको आज दिउँसो बैठक बस्दैछ । लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा प्रहरी र विद्यार्थीका बीच सामान्य झडप भएको लामिछानेले बताउनुभयो ।
सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न सीमाङ्कन, नागरिकता, राष्ट्रियसभामा समावेशी प्रतिनिधित्व र भाषाको विषयलाई संशोधन गर्न प्रस्ताव दर्ता गराएपछि नेकपा (एमाले) निकट अनेरास्वविय, युवा सङ्घलगायत सङ्गठन आन्दोलनमा छन् ।
संविधानअनुसार प्रस्तावित प्रदेश नं ५ का स्थानीय राजनीतिक दल तथा जनताले समेत सो क्षेत्रलाई नटुक्र्याउन माग गरेर विरोध गर्दै आएका छन् । सरकारले त्यस क्षेत्रमा रहेका पहाडी जिल्लालाई प्रदेश नं ४ मा समायोजन गर्ने प्रस्ताव गरेको थियो । रासस