श्रीलंकामा सामूहिक अन्त्येष्टि : पुरै देश शोकमा डुब्यो - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

श्रीलंकामा सामूहिक अन्त्येष्टि : पुरै देश शोकमा डुब्यो



कोलम्बो । श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम आक्रमणमा मारिएकोको मंगलबार सामूहिक अन्त्येष्टि गरिएको छ ।

मंगलबार नै श्रीलंकामा राष्ट्रिय शोक समेत थियो । विभिन्न चर्च र होटेलहरूमा भएका हमलाहरूमा ३ सय २१ जना मारिएका छन् भने करिब पाँच सय घाइते भएका छन् ।

श्रीलंकामा थप हमलाको आशंका तथा आइतबारको हमलाका आरोपीमाथि कारबाहीका लागि आपतकालीन अवस्था घोषणा गरिएको छ । मंगलवार इस्लामिक स्टेट समूहले आफ्नो समाचार संस्थामार्फत आक्रमण आफूले गराएको दाबी गरेको छ ।

श्रीलंका सरकारले भने ती विस्फोटहरुमा स्थानीय इस्लामिस्ट समूह नेशनल तौहिद जमात दोषी भएको ठहर गरेको छ । प्रहरी आक्रमणमा दोषी रहेको आशंकामा ४० जनालाई गिरफ्तार गरेको छ ।

यसरी पक्राउ पर्नेमा एक जना सिरियाली नागरिक समेत छन् । आइतबार शृंखलाबद्ध विस्फोट भएपछि कफ्र्यु लगाइएको छ ।

सुरक्षाकर्मीहरूले विभिन्न स्थानमा राखिएको विस्फोटक पदार्थ फेला पारेका थिए । यस्तै गएरातिदेखि संकटकाल लगाइएको छ । सोमवार मध्यरातदेखि संकटकाल लागू भएपछि सुरक्षाकर्मीहरूले विशेष अधिकार पाएका छन् ।

संकटकालको अवधिमा सुरक्षा निकायका अधिकारीहरूले अदालतको आदेशबिनै शंकास्पद व्यक्तिहरूमाथि छानबिन गर्न सक्नेछन् । श्रीलंकामा भीषण हमलापछि देश नै शोकमा रहेका बेला उच्च नेतृत्वमा भने विवाद देखिएको छ ।

श्रीलंकामा आक्रमण हुन सक्ने चेतावनी सुरक्षानिकायलाई पहिला नै प्राप्त भएको विवरण सार्वजनिक भएपछि सो विषयलाई लिएर विवाद देखिएको हो ।

त्यसपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई त्यसबारे जानकारी नै नदिएको मन्त्रीहरुको भनाई छ । श्रीलंका सरकारका प्रवक्तले सरकारभित्र बढ्दो विवादका कारण गुप्तचर सूचनाबारे जानकारी दिइने बैठकमा लामो समयदेखि प्रधानमन्त्रीलाई नै सहभागी गराइएको छैन ।

गतवर्ष अक्टोबरमा राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रनिल विक्रमसिंघेलाई पदमुक्त गर्दै महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलंकामा बैधानिक संकट उत्पन्न भएको थियो ।

तर सर्वोच्चले विक्रमसिंघेलाई पुनस्र्थापित गरेको थियो । त्यसयता राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी बैठकहरूमा सहभागी गराएका छैनन् ।