रजनीकान्तले नयाँ राजनीतिक पार्टी खोल्दै - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

रजनीकान्तले नयाँ राजनीतिक पार्टी खोल्दै



काठमाडौं ।

दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन् । उनले तमिलनाडुमा हुने आगामी विधानसभा चुनाव लड्ने घोषणा गरेका हुन् । बीबीसीका अनुसार रजनीकान्तले आफ्नै राजनीतिक पार्टी बनाउनेसमेत घोषणा गरेका छन् ।

आफ्नो छोटो भाषणमा रजनीकान्तले तमिलनाडुमा धरमराउँदै अघि बढेको लोकतन्त्रमा ‘सिस्टम’ परिवर्तन जरुरी रहेको बताए । उनले भ्रष्टाचार विरुद्ध लड्नेसमेत उद्घोष गरेका छन् । प्रशंसकको ठूलो उपस्थिति रहेको राघवेन्द्र कल्याण मण्डपमा अभिनेता रजनीकान्तले भने, “यो संकटको घडीमा म राजनीतिमा नआए मेरा लागि लाजमर्दो कुरा हुने छ । र यो सिनेमा नभएर साँचो हो ।’’

नागरिकहरुलाई पनि राजनीतिमा आउन अपील गर्दै उनले तमिलनाडुका हरेक गाउँ र गल्लीहरुमा जाने पनि बताए । तमिलनाडुकी लोकप्रिय मुख्यमन्त्री जयललिताको निधनपछि अभिनेता रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएको थियो ।

६७ वर्षिय रजनीकान्तले भने, ‘‘प्रदेशमा आगामी विधानसभा चुनावका लागि एक नयाँ राजनीतिक पार्टी बनाउनु समयको माग हो । हामी सन् २०२१ मा तमिलनाडुका सबै २३४ सीटमा चुनाव लड्नेछौं ।’’

जयललिताको निधनपछि तमिलनाडुको राजनीतिमा रिक्तता आएको छ । जयललिताको निधनमा उत्पन्न रिक्तता भर्न कांग्रेस र भाजपालाई सहज छैन । जयललिताको निधन पछि उनको पार्टी एआईएडीएमकेमा आन्तरिक कलह चुलिँदै गएको छ ।