आज पत्रपत्रिकामा फ्रन्ट पेजः भोजपुरको आगलागी, सांसदको सुविधादेखि फास्ट ट्रयाकसम्म - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

आज पत्रपत्रिकामा फ्रन्ट पेजः भोजपुरको आगलागी, सांसदको सुविधादेखि फास्ट ट्रयाकसम्म



हिमाल पोष्ट/ ६ मंसिर, काठमाडौं । आज मंसिर ६ गते प्रमुख दैनिक पत्रिकाहरुले आइतबार भएको सांसदको तलब वृद्धिलाई मुख्य समाचारका रुपमा पस्केका छन् । त्यसैगरी काठमाडौं -तराई जोड्ने फास्ट ट्रयाक भारतलाई दिने निर्णय रद्द गरी नेपालले आफैं बनाउने, भोजपुर सदरमुकाममा भएको आगलागी एवं भूकम्पपीडितका लागि पुनर्निर्माण प्राधिकरणले ल्याएको कार्ययोजना लगायतका आइतबारका गतिविधिहरु आजको पत्रपत्रिकामा प्रमुख समाचार बनेका छन् । हामीले यहाँ आजका पत्रपत्रिकाको प्रथम पृष्ठमा छापिएका समाचारबारे पाठकहरुलाई जानकारी दिएका छौं:

गोरखापत्र दैनिक- आजको गोरखापत्र दैनिकले भोजपुर सदरमुकाममा भएको भीषण आगलागीलाई प्रथम पृष्ठको पहिलो समाचार बनाएको छ । आइतबार भएको आगलागीबाट ८ घर जलेर नष्ट भएको गोरखापत्रले लेखेको छ ।

त्यसैगरी पुनर्निर्माण प्राधिकरणले पुनः निर्माण कार्ययोजना पारित गरेको गारखापत्रमा अर्को समाचार छ । फास्ट ट्रयाक बनाउने भारतसँगको सम्झौता रद्दसम्बन्धी समाचारलाई पनि गारखापत्रले प्राथमिकता दिएको छ । त्यसैगरी सांसदको पारिश्रमिक र भत्ता बढेको विषयलाई पनि गारखापत्रले पहिलो पृष्ठको समाचार बनाएको छ भने शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउनुपर्ने विभिन्न व्यक्तिको भनाइलाई पनि उसले पहिलो पृष्ठको समाचार बनाएको छ ।

‘रसुवागढी नाका भएन व्यवस्थित’ शीर्षकमा गोरखापत्रमा नारद गौतमको बाइलाइनमा एङकर न्युज छापिएको छ ।

कान्तिपुर दैनिकः आजको कान्तिपुर दैनिकले ‘सांसद सुविधा ह्वात्तै’ शीर्षकमा समाचार बनाएको छ । त्यसैगरी ‘एमालेले भन्यो- संशोधन अस्वीकार्य’ शीर्षकमा कान्तिपुरमा अर्को समाचार छ । कान्तिपुरको फ्रन्ट फेजमा तीनवटा समाचार छापिएका छन् ।

भारतको कानपुरमा भएको रेल दुर्घटनासम्बन्धी समाचारलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा महत्वपूर्ण स्थान दिएको छ । प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर कानपुरमा मृत्यु हुनेहरुप्रति समवेदना प्रकट गरेको समाचार कान्तिपुरमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिकः आजको नयाँ पत्रिका दैनिकले उच्च अदातलमा न्यायाधीश नियुक्तिबारे प्रमुख समाचार छापेको छ ।

उच्च अदालतमा न्यायाधीशहरुको ८० सीट रहेको र त्यसमा ८ सय प्रतिस्पर्धीहरु रहेको नयाँ पत्रिकाले लेखेको छ । उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि ६ सयले न्यायपरिषदमा बायोडाटा बुझाएको समाचारमा उल्लेख छ ।

त्यस्तै सांसदको सुविधा बढ्यो शीर्षकमा नयाँ पत्रिकाले अर्को समाचार प्रमुखताका साथ छापेको छ । त्यसैगरी फास्ट ट्रयाक नेपाल आफैँले बनाउने समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।
‘प्रहरीको एकेडेमी २० वर्र्षदेखि अलपत्र’ शीर्षकमा नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा नवराज मैनालीको बाइलाइनमा अर्को समाचार छापिएको छ ।

नागरिक दैनिकः नागरिक दैनिकको प्रथम पृष्ठमा दुईवटा समाचारलाई मुख्य समाचार बनाइएको छ । ‘फास्ट ट्रयाक आफैं बनाउन गृहकार्य’ शीर्षकमा एउटा समाचार दिइएको छ भने ‘लाख नाघ्यो सांसदको तलब भत्ता’ शीर्षकमा अर्को समाचार दिइएको छ ।

भारतको कानपुरमा आइतबार भएको रेल दुर्घटनामा परी १०७ जनाको मृत्यु भएको समाचारलाई नागरिकले पहिलो पृष्ठको एक कोलम समाचार बनाएको छ ।
राजधानीको वागमती र धोवीखोलामा ‘नयाँ प्रविधिमा सुन्दर पुल जडित हुँदै’ भन्ने समाचार नागरिक दैनिकमा प्रवीण ढकालले लेखेका छन् । सय समाचारमा धोबीखोला र वागमतीमा दुई-दुईवटा पुल बन्दै गरेको विवरण उल्लेख छ ।