वैदेशिक रोजगार विभागमा हजारभन्दा बढी उजुरी - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

वैदेशिक रोजगार विभागमा हजारभन्दा बढी उजुरी



काठमाडौँ, फागुन २० गते । 

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउने भन्दै एजुकेसन कन्सल्टेन्सीका नाममा खोलिएका संस्थाबाट ठगिने गरेका छन् ।  वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक हजार १८३ उजुरी परेका छन् ।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका कामदार दुर्गम गाउँबाट राजधानीमा आई महिनौँसम्म राजधानीको महँगीमा बसेर न्याय पाउन निकै खर्चिलो हुने भएकाले पनि कम उजुरी पर्ने गरेको विश्लेषण छ ।  न्यायका लागि केन्द्रमा आएर उजुरी दर्ता गर्न समस्या नभए पनि मुद्दा टुङ्गो लगाउन महिनौँसम्म राजधानीमा बस्दा एकातिर समयको बर्बाद अर्कातिर मुद्दा जितेर पाउने क्षर्तिपूर्तिभन्दा खर्च बढी हुने गरेको स्वयं भुक्तभोगी बताउँछन् ।

यस्तैमध्ये एक हुनुहुन्छ, चितवनका भीमप्रसाद बराल ।  उहाँले आफू वैदेशिक रोजगारीमा जाने क्रममा घरगाउँकै दलालबाट ठगीमा परेको सबै प्रमाणसहित चार महिनाअघि विभागमा उजुरी दर्ता गराउनुभएको हो ।

उहाँले अहिलेसम्म न्याय पाउनुभएको छैन ।  बरालको अनुभव छ, “प्रमाण भए उजुरी दर्ता गर्न त्यति गाह्रो छैन तर न्याय पाउन सहज छैन ।  म चार महिनाको बीचमा कैयौँपटक धाएँ, मैले न्याय पाएँ भने एक लाख रुपियाँ पाउँछु होला तर न्यायका लागि अहिलेसम्म आतेजाते, बस्दा, खाँदा लगभग डेढ लाख रुपियाँ खर्च भइसक्यो तर न्याय पाउने टुङ्गो छैन । ” वैदेशिक रोजगारीमा ठगीमा परेर विभागमा उजुरी गरी न्यायका लागि आउने प्रायःको यस्तै गुनासो छ ।

वैदेशिक रोजगारीमा परेका उजुरीमध्ये सबैभन्दा बढी संस्थागत ठगीका उजुरी छन् ।  विभागका महानिर्देशक विश्वराज पाण्डेका अनुसार चालू आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगार व्यवसायी कम्पनीले ठगी गरेको भन्दै ६२९ जनाले उजुरी दिएका छन् भने व्यक्तिगत ठगीका ५५४ वटा उजुरी दर्ता भएका छन् ।   उहाँले यसरी विदेशमा गएपछि नेपालमा सम्झौता भए अनुसार काम नपाएको भन्दै उजुरी दिनेको सङ्ख्या पनि निकै छ ।

विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र पछि समस्यामा परेर नेपाल आएपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै रहेको उहाँको भनाइ छ ।

विभागमा खाडी मुलुकहरू र मलेसिया जाने कामदारभन्दा अमेरिका, पोर्चुगल, पोल्यान्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या बढी छ ।  यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको विभागले जनाएको छ ।

विभागमा दर्ता भएका झण्डै एक हजार दुई सय उजुरीमध्ये तीन सयको मात्रै टुङ्गो लागेको छ ।  विभागका अनुसार माघ महिनासम्ममा ३३१ वटा उजुरीको टुङ्गो लगाइएको छ ।  यसमा व्यक्तितर्फ ७६ वटा र संस्थागततर्फ २५५ वटा उजुरीको टुङ्गो भइसकेको छ ।
विभागमा दर्ता भएका ५५४ वटा व्यक्तिगत उजुरीकर्ताले १७ करोड ७६ लाख ३१ हजार रुपियाँभन्दा बढीको दाबी गरेको १७ करोड आठ लाख रुपियाँभन्दा बढी बिगो रकम भराइसकेको छ ।   यसैगरी विभागमा दर्ता भएका ६२९ जना संस्थागत उजुरीकर्ताले २९ करोड १९ लाख ६४ हजार रुपियाँभन्दा बढीको दाबी गरेकोमा चार करोड ८६ लाख १८ हजार रुपियाँभन्दा बढी बिगो रकम भराइसकेको छ ।