बिल्ला नम्बर ५७६ः कुख्यात अपराधी उदय सेट्ठीसँगै बालकृष्ण ढुंगेल
काठमाडौं ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका माओवादी नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ ।
उनी अन्तराष्ट्रिय कुख्यात अपराधी उदय सेट्ठीसँगै थुनामा छन् । उदय अपहरणलगायत फौजदारी मुद्दामा जेलमा परेका हुन् ।
त्यतिमात्र नभई मंगलबारदेखि नै ढुंगेलले ‘ख’ ब्लकका जेलका नाइके टासी गुरुङको आदेश मान्नुपर्छ । टासी पनि अपहरण मुद्दामा परी जेल सजाय काटिरहेका कैदी हुन् ।
ढुंगेलको पहिलो रात भुईंमै वित्नेछ । उनले सुत्नका लागि अरु कैदिसरह खाट पाएका छैनन । बुधबार भने उनले खाट पाउन कारागार कर्मचारी स्रोतले जनाएको छ ।
उनलाई राखिएको ‘ख’ ब्लकमा १ सय २७ कैदीबन्दीका लागि एकल र संयुक्त खाटको ब्यवस्था छ । ‘अरुलाई खाटबाट हटाएर उनलाई खाटमा सुताउन नमिल्ने भएकाले मंगलबार उनी भूईंमै सुत्छन्’, कारागार स्रोतले भन्यो ।
कारागारको ‘क’ ब्लकमा भने जग्गा व्यवसायी सुधिर बस्नेतदेखि भ्रष्टाचार मुद्दामा जेल परेका पूर्व प्रहर महानिरीक्षकद्वय ओमविक्रम राणा र हेम गुरुङसहित ४ सय ४८ कैदी छन् । (राजधानी दैनिक)