देशभर तालाबन्दीको असर: नवलपरासीका २ वटा क्याम्पसमा मात्र स्ववियु हुनाव हुने-अछामका सबै क्याम्पसमा चुनाव अनिश्चित - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

देशभर तालाबन्दीको असर: नवलपरासीका २ वटा क्याम्पसमा मात्र स्ववियु हुनाव हुने-अछामका सबै क्याम्पसमा चुनाव अनिश्चित



नवलपरासी, १६ फागुन

त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित १८ फागुनमा नै मतदान हुने गरी कार्यतालिका संशोधन गरेर चुनावी प्रक्रिया अघि बढाए पनि स्ववियु निर्वाचन अन्योलमा परेको छ । उपत्यकाका केही क्याम्पस बाहेक निर्धारित कार्यतालिका अनुसार आइतबार उम्मेदवारी मनोनयन दर्ता समेत हुन सकेन । केही क्याम्पसमा आगजनी, तोडफोड र झडप समेत भएका छन् भने उपत्यका बाहिर पनि तालाबन्दीको असर देखिएको छ ।

तालाबन्दीकै कारण नवलपरासीका ६ वटा क्याम्पस हुनुपर्ने स्ववियु चुनाव २ वटा क्याम्पसमा हुने भएको छ भने अछामका ७ वटै क्याम्पसमा स्ववियु चुनाव अनिश्चित भएको छ । नवलपरासीका दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट र महाकवि देवकोटा बहुमुखी क्याम्पस सुनवलमा निर्धारित समयमै चुनाव हुने बताईएपनि अछामका अछाम बहुमुखी क्याम्पस, जनता बहुमुखी क्याम्पस वयलपाटा जनशिखा क्याम्पस मेल्लेख, कमलबजार बहुमुखी क्याम्पस, पञ्चदेवल क्याम्पस लगायत  क्याम्पसमा चुनाव अनिश्चित बनेको छ ।
नवलपरासीको कालिका संस्कृत क्याम्पस गैंडाकोटमा नेपाल बिद्यार्थी संघले, कुमारवर्ती क्याम्पसका अनेरास्ववियु र अखिल क्रान्तिकारी सहितका बिद्यार्थी संगठनले तथा त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारी र पाल्ही बहुमुखी क्याम्पस परासीमा मधेसी मोर्चा निकटका विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।

त्यस्तै अछामको जिल्ला सदरमुकाम मंगलसेनमा रहेको अछाम बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तथा जनता बहुमुखी क्याम्पस वयलपाटा र जनशिखा क्याम्पस मेल्लेखमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ भने कमलबजार बहुमुखी क्याम्पसमा भर्ना खुलिरहेको र पञ्चदेवल क्याम्पसमा संचालक समिती नहुँदा चुनाव अनिश्चित भएको बताईएको छ ।

स्ववियु चुनावको अन्यौल देशभर देखिरहे पनि त्रिभुवन विश्वविद्यालयले भने ताला नखुलेका क्याम्पसमा मात्रै भए पनि चुनाव गरी छाड्ने तर निर्वाचन स्थगन नगर्ने बताएको छ । ।