ज्यानमारा सडकको पहिरो रोक्न रकनेट प्रबिधिको परीक्षण सुरु - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

ज्यानमारा सडकको पहिरो रोक्न रकनेट प्रबिधिको परीक्षण सुरु



रामपुर (पाल्पा), माघ १० गते । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो रोकथामका लागि ‘रकनेट’ प्रविधिको परीक्षण सुरु गरिएको छ ।

बर्सेनि १५-२० जनाको ज्यान लिँदै आएको सिद्धबाबा आसपासको पहिरो नियन्त्रणका लागि रकनेट प्रविधिको परीक्षण गर्ने काम सुरु गरिएको हो ।

सिद्धबाबादेखि दोभानसम्म चट्टानसहितको तीन किलोमिटर सडक पहिरोका कारण जोखमपूर्ण बन्दै गएपछि नियन्त्रणका लागि रकनेट प्रविधिको प्रयास थालिएको छ । सडकमाथिबाट खस्ने चट्टाने पहिरो सुरक्षित तरिकाले रोक्न नमुनास्वरुप ‘रकनेट’ (जाली) प्रविधिको जडान सुरु गरिएको छ । अहिले माथिल्लो सिद्धबाबा छरछरे नजिकै यो परीक्षणको काम भइरहेको छ ।

नमुना परियोजनाका रुपमा जियोटेक सोलुसन्स इन्टरनेसनल प्रालिले पहिरो रोकथामका लागि अस्ट्रियाको प्रविधि राख्न सुरु गरेको हो । प्रविधि जडान भएपछि प्रतिघन्टा एक सय किमीको गतिमा आएको एक टनको ढुङ्गा रोक्न सकिने भूगर्भविद् एवम् त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक इन्जिनियर डा रञ्जनकुमार दाहालले बताउनुभयो । जाली भिरमा अडाउनका लागि ड्रिलिङ मेसिनले प्वाल बनाउने काम भइरहेको छ । फागुन मसान्तसम्म जाली राख्ने काम सकिने उहाँले बताउनुभयो ।

परियोजनाका लागि रु ५२ लाख खर्च हुने अनुमान गरिएको छ । सडक डिभिजन कार्यालयको अनुमतिमा सबैभन्दा बढी पहिरो खस्ने छरछरेमा पहिरो नियन्त्रणमा उक्त विधिको प्रयोग गर्न लागिएको हो । विश्वका धेरै देशमा सफल मानिएको यो प्रविधि नेपालमा भने पहिलोपटक प्रयोग गर्न थालिएको हो ।

रकनेट प्रविधिमा माथिबाट झरेर आउने ढुङ्गालाई जालीले अडाएर राख्ने र सिधै सडकमा खस्न नपाउने हुँदा दुर्घटना न्यूनीकरणका लागि उपयोगी हुने विश्वास गरिएको छ । रासस