गोरखपुरमा भएको सवारी र्दुघटनामा सात नेपालीको मृत्यु
भैरहवा, भदौ २३,भारतको गोरखपुर नजिकै रेडिमिक्स मिक्स्चर र कार एक आपसमा ठोक्कीदा सात जना नेपालीको मृत्यु भएको छ । घटनामा एक जना भारतीय नगारिकको पनि मृत्यु भएको छ ।
सुनौलीका ती व्यक्ति कार चालक भएको प्रहरीले जनाएको छ । गोखरपुर नौतनवा सडक खण्डको पुरन्दरपुरमा कार र रेडिमिक्स मिक्स्चर एक आपसमा ठोक्कीदा कारमा सवार सात जना नेपालीको मृत्यु भएको भारतीय प्रहरीलाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रविन बिष्टले जानकारी दिए ।
भारतीय प्रहरीका अनुसार युपी ५३ सि.टी ७२०२ नम्बरको कार गोरखपुरबाट सुनौली तर्फ आउदै थियो । मृत्तक नेपालीहरुको सनाखत भइनसकेको र थप जानकारी आउन बाँकी रहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।
भारतीय प्रहरीका अनुसार मृत्तक सबैको घटना स्थलमै मृत्यु भएको हो । कार सडकबाट केही तल खसेको र शव र कार क्षतबिक्षत अवस्थामा रहेको भारतीय प्रहरीले जनाएको छ ।
दुर्घटनामा चार जना पुरुष एक जना महिला र दुइ जना बालबालिका रहेको बताइए पनि पुष्टि भने भइसकेको छैन । घटनास्थल तर्फ नेपालका केही सुरक्षाकर्मी पठाइएपनि थप जानकारी आइसकेको छैन । घटना स्थल नेपाल भारत सिमानाका भन्दा करिब ४० किलोमिटर टाढा रहेको बताइएको छ ।