आधुनिक प्रविधिले प्रभूत्व जमाएपछि हुलाकबाट पत्र पठाउने चलन हराए - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

आधुनिक प्रविधिले प्रभूत्व जमाएपछि हुलाकबाट पत्र पठाउने चलन हराए



हिमाल पोष्ट / ९ मंसिर, काठमाडौं । कुनै समयमा मानिसका सन्देश एक ठाउँबाट अर्को ठाउँमा रहेका मानिससम्म पुर्‍याउन भरपर्दो माध्यमका रूपमा रहेको हुलाक सेवा अहिले निकै कम प्रयोग हुने गरेको छ ।

आधुनिक प्रविधिमा मानिसको पहुँच बढेसँगै चिठीका माध्यमबाट सन्देश पठाउने हुलाकको प्रयोग कम हुँदै गएको हो । देशभरका कुनाकुनामा पुगेको हुलाक सेवाका माध्यमबाट देशविदेशसम्म रहेका आफ्ना आफन्तलाई हालखबर पुर्‍याउन हुलाक सेवा भरपर्दो माध्यमका रूपमा रहेको छ ।

हुलाक सेवा विभागका निर्देशक राजन पौडेल पनि आधुनिक प्रविधिले प्रभूत्व जमाउन थालेपछि पहिलेको जस्तो हुलाकबाट पत्र पठाउने चलन हराएको बताउँछन् । अहिले हरेक मानिसका हातहातमा आधुनिक मोबाइल फोन छन् । देशविदेशसम्म कुरा गर्न सहज भएको छ । हरेक दिन फोनमा भिडियो च्याट गर्दै कुरा गर्ने सुविधा छ । जसका कारण गाउँघरको हालखबर पनि सजिलै थाहा पाउन सकिन्छ ।

पहिले श्रीमान् विदेश हुँदा चिठीका माध्यमबाट हालखबर पुर्‍याउने बर्दिया हाल पेप्सीखोला काठमाडौँ बस्ने शारदा खड्का पनि अचेल मोबाइल, भाइबरका माध्यमबाट कुरा गर्छिन् । पहिले महिनौँसम्म कुरा नहुने उनी अहिले दिनमै तीन, चार पटकसम्म कुरा गर्छिन् । उनी भन्छिन्, ‘पहिले पो चिठी पुग्न निकै समय लाग्थ्यो । अनि महिनौँ खबर थाहा हुन्थ्यो । अहिले त इन्टरनेटमा सित्तैमा कुरा गर्न सकिन्छ । अनि किन चिठी लेख्ने ?’

गोरखाकी ७९ वर्षीया माकुरी न्यौपाने पनि अहिले मोबाइलबाटै विदेशमा रहेका छोरा, नातिसँग कुरा गर्छिन् । उपचारका लागि काठमाडौँ आएकी उनले पहिलेपहिले गाउँमा पढेलेखेलाई चिठी लेख्न लगाउँथिन् । उताबाट आएको चिठी पनि अरुले नै पढिदिन्थे ।

उनी भन्छिन्, ‘अहिले त मोबाइल दिएका छन् । फोन आयो भने हरियो बटन दबाएर उठाउनु भनेका छन् । त्यसै गर्छु र कुरा गर्छु । आफूले गर्न त जान्दिन । डायरीमा नाम, नम्बर लेखिदिएका छन्, जान्नेलाई डायल गरी दिन भनेर कुरा गर्ने गरेकी छु । चिठी नलेखाएको त वषौँ भयो नि ।’ उनी पहिलेजस्तो खबर थाहा पाउन महिनौँ कुनुपर्ने बाध्यता टरेको बताएकाे आजको गोरखापत्रदैनिकमा समाचार छ ।

अहिले देभभर इलाका र अतिरिक्त गरी ८५० हुलाक सेवा सञ्चालित छन् । यहाँका कर्मचारी पनि अहिले कामविहीन भएर बसेका छन् । गाउँगाउँसम्म पनि अहिले मोबाइलको पहुँच पुगिसकेको अवस्थामा हुलाक सेवालाई आधुनिक प्रविधिसँग मिलाएर लैजानुपर्ने आवश्यकता विभागले पनि महसुस गरेको बताउँछिन् निर्देशक पौडेल ।