अल्पसंख्यकहरुको एकता नहुँदा उपलब्धी खतरामा : अध्यक्ष - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

अल्पसंख्यकहरुको एकता नहुँदा उपलब्धी खतरामा : अध्यक्ष



२६ असोज, ताप्लेजुङ्ग
उत्पीडित तथा अल्पसंख्यक समुदायको एकता हुन नसक्दा मुलुकमा प्राप्त उपलब्धीहरु गुम्नसक्ने खतरा बढेको नेपाल ख्रिष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष गिदोन लामिछानेले बताउनु भएको छ ।
संघको ताप्लेजुङ्ग शाखाको तेश्रो जिल्ला अधिवेशनलाई असोज २४ गते सदरमुकाम फुङ्लिनमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्ष लामिछानेले भन्नुभयो – ‘ख्रिष्टियन समुदाय अल्पसंख्यक समुदाय हो, मुलुकमा दुई प्रतिशत समेत नरहेको यस समुदायबीचमा नै आपसी एकता नहुनु दुःखद पक्ष हो । पछिल्लो समयमा त अझ इसाई समाजहरु समेत चिराचिरामा विभाजित हुनु र राजनीतिक पार्टीमा विभाजित हुनु हाम्रा लागि हानिकारक हुन् । त्यस्तै देशमा रहेका आदिवासी, जनजाति, दलित तथा अन्य अल्पसंख्यक समुदायहरु आपसमा एकजुट नहुँदा यस अघिका उपलब्धी समेत गुम्न थालेका छन् त्यसतर्फ सचेत हुनु आजको आवश्यकता हो ।’
“व्यावसायिक दक्षता–आजको आवश्यकता, धार्मिक सद्भाव ख्रिष्टियन पत्रकारको प्रतिबद्धता” मुख्य नारा लिएर स्थापित भएको संघको आवश्यकताबारे जोड दिँदै उहाँले भन्नुभयो– ‘इसाईहरु थोरै संख्यामा भएका कारण ठूलो संख्यामा भएका अन्य धार्मिक समुदायले अपहेलना गर्ने, विभिन्न मिथ्या आरोप लगाउने र निरुत्साहित पार्ने काम समाजबाट भईरहेको छ । हामीले धैर्यतापूर्वक समाजको चेतना खोल्नु र सत्य बुझाउन सक्नु पर्छ । समाजमा विद्यमान कुरिती, कुसंस्कारबाट जनतालाई उज्यालोतर्फ डो¥याउनु हाम्रो कर्तब्य हो । कर्तव्य पुरा गरी मानव समाजलाई सभ्यतातर्फ डो¥याउँदा धर्म प्रचारको आरोप लगाइनु मुर्खता हो । हामीले धर्म परिवर्तनमा होइन जीवनशैली र आचारणमा परिवर्तन गर्नुपर्छ ।’
नेपाल ख्रिष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष गिदोन लामिछानेले संविधानमा हिन्दुधर्मको रक्षा, सनातन अन्धविश्वास, कुरिति र कुसंस्कारको समेत संरक्षण गरी पुरै राज्यसत्ता अल्पसंख्यक समुदायमाथि कुटिल रुपमा दमनमा उत्रिएको दाबी गर्नुभयो । उहाँले राज्यले अल्पसंख्यक उत्पीडित समुदायलाई केहि दिएको भ्रम फैलाएर एकल जातिवादी राज्य सञ्चालनमा शासकहरु उद्दत रहेको बताउनु भयो । राजनीतिक दलबाट व्यवस्थापिक चयन हुने, व्यवस्थापिकाले कार्यापालिका र न्यायपालिकाको संरचना तयार गरी राज्य सञ्चालन गरिरहेको भन्दै अध्यक्ष लामिछानेले केहि ख्रिष्टियनहरु त्यही व्यवस्थापिकाको खेल राजनीतिमा मरिहत्ते गरेर विश्वासको जहाज डुवाउन लागेको प्रति सचेत समेत गराउनु भयो ।
जनताले व्यवस्थापिकाबाट आफ्नो हित अनुकुल कानुन तथा विधान नबनेपछि, कार्यपालिकाबाट प्रवाहित सेवासुविधाबाट बञ्चित भएपछि र न्यायपालिकाबाट समेत पद, पैसा र प्रतिष्ठाका आधारमा हार खाएपछि एकमात्र विकल्प पत्रकारितालाई उपयोग गर्ने बताउनु भयो । जनताले राज्यका सबै अंगबाट बञ्चित हुनुपरेपनि पत्रकारिताले उनीहरुको सहारा बन्न सक्ने र जीवन जिउन प्रेरित गर्ने बताउँदै उहाँले ख्रिष्टियन पत्रकारहरुले समाजमा रहेको विभाजन, फुट र असत्यलाई चिर्दै एकता र सत्यतालाई जोड दिएको बताउनु भयो ।
अधिवेशनबाट पत्रकार कुविरमान राईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ । ताप्लेजुङ्ग जिल्लामा नेपाल ख्रिष्टियन पत्रकार संघको दोश्रो कार्यकाल समेत सफलतापूर्व सम्पन्न भई विधिवत रुपमा तेश्रो जिल्ला अधिवेशन सम्पन्न गरिएको केन्द्रीय महासचिव मन खुदाङ्गले जानकारी दिनु भएको छ ।
संघका केन्द्रीय अध्यक्ष गिदोन लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिवेशनमा ताप्लेजुङ जिल्ला इसाई समाजका अध्यक्ष धनविक्रम इवारम, पत्रकार संघका केन्द्रीय सदस्य डिबी राई, संगिता बर्देवालगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । जिल्लाका ९ वटा स्थानीय तहका नगरपालिका तथा गाउँपालिकाहरुबाट क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
अधिवेशनबाट उपाध्यक्षमा दिपेश खड्का, सचिव दिलप्रकाश लिम्बू, सहसचिव मनिषा तामाङ र कोषाध्यक्षमा रोशन नेपाली चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा रीता सेन्चुरी, सृष्टि सापकोटा, लक्ष्मण राई, सामना ताम्मादेन, सुस्मिता शेर्पा, निमा शेर्पा, रेणुका राई, कल्पना विष्ट, दिलिप लिम्बू, साइमन माबोहाङ, लाक्पा खाङडु शेर्पा, चिरिन्जीवि मोते, सोनिया शेर्पा, पासाङ शेर्पा, केवल कुमार सावा र बिजय केदेम रहनु भएको छ । समितिको सल्लाहकारमा पूर्व अध्यक्ष डिवी राई, पूर्व अध्यक्ष पासाङ टि शेर्पा र संगिता बर्देवा रहनु भएको छ ।
अधिवेशनबाट नव निर्वाचित कार्य समितिले यसअघि प्रकाशन भईरहेको हलचल पत्रिकाको निरन्तरता दिनुका साथै जिल्लाका सबै स्थानीय तहमा सुचना प्रविधि र पत्रकारिता सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गरिने अध्यक्ष कुविरमान राईले जानकारी दिनु भएको छ ।