यी हुन् एमालेबाट अर्थ र परराष्ट्र मन्त्रालय सम्हाल्ने मन्त्री - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

यी हुन् एमालेबाट अर्थ र परराष्ट्र मन्त्रालय सम्हाल्ने मन्त्री



काठमाण्डौ – एमालेले पाएका ११ मन्त्रालयमध्ये सबैभन्दा महत्वपूर्ण मानिएका अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मा कसलाई दिने भन्ने टुङ्गोमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्।

ओलीले उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयको जिम्मेवारी महासचिव ईश्वर पोखरेललाई र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सचिव प्रदीप ज्ञवालीलाई दिँदैछन्।

मन्त्री छान्ने औपचारिकताका लागि शुक्रबार स्थायी समितिको बैठक डाकेपनि पोखरेल र ज्ञवालीलाई उपरोक्त मन्त्रालय दिने टुङ्गोमा ओली पुगेको स्रोतले बतायो।

अर्थ मन्त्रालयको जिम्मेवारी पाउन लागेका पोखरेल बाबुराम भट्टराई प्रधानमन्त्री छँदा एमालेको तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए। तर, एमालेले तत्काल सरकार छाडेका कारण पोखरेल लामो समय परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा रहन पाएनन्।

पोखरेललाई साथ दिन ओलीले राष्ट्रिय सभामा राष्ट्रपतिबाट नियुक्त गरिएका अर्थविज्ञ डा. युवराज खतिवडालाई अर्थ राज्यमन्त्रीमा ल्याउने तयारी गरेको बताइएको छ। तर खतिवडा राज्यमन्त्री बन्न तयार हुन्छन् हुँदैनन् प्रष्ट भैसकेको छैन।

यसअघि पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका ज्ञवाली अध्यक्ष ओलीको भारतसँगको सम्बन्ध सुमधुर बनाउन प्रयासरत मध्येका नेता हुन्। ओली मन्त्री परिषदमा एमालेको तर्फबाट भानुभक्त ढकाल, कृष्णलाल महर्जन, नारदमुनि राना थारुलगायत मन्त्री हुँदैछन्।