यसरी हुँदैछ विदेशमा अलपत्र नागरिक ल्याउने अन्तिम तयारी
काठमाडौं-सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन अन्तिम तयारीमा जुटेको बताइएको छ । कोरोना महामारीको कारण विभिन्न देशमा अलपत्र परेका र दुख पाइरहेका नेपालीहरूलाई नेपाल ल्याउने बिषयमा मोडालिटी तयार भैरहेको बताइएको हो ।
सिंह दरबारमा मंगलबार बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समन्वय समितिको वैठकमा यस विषयमा बृहद छलफल भएको हो।
विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने विषयमा मोडालिटि तयार गर्न बैठकमा छलफल भएको समितिका सचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए।
‘भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको छ,’ बैठकपछि उनले भने, ‘सात वटै प्रदेश सरकारसँग समन्वय गरेर व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गरिने छ।’
उनले विदेशबाट ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फौलिन नदिने गरी क्रमश: ल्याउने ढंगको योजना बनाइँने जानकारी दिए। समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेनटाइनहरुलाई तेकिएको मापदण्ड अनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको छ।
क्वारोन्टाइनमा रहनेहरुको सुरक्षाको व्यवस्था, तथ्याङ्क राख्ने लगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीको अगुवाईमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको बिडारीले बताए।
‘क्वारेन्टाइनमा बस्नेहरुको बन्दोबस्तिको व्यवस्था, खानपिनको व्यवस्थामा संघीय सरकारको आर्थिक सहयोग हुने र सम्बन्धित स्थानीय तहले जिम्मा लिने गरी व्यवस्थापन गर्ने किसिमको कार्ययोजना बनाउने छौं,’ उनले भने।