जसपा सांसद यादवले संसदमै हिमानीको प्रशंसा गरेपछि... - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

जसपा सांसद यादवले संसदमै हिमानीको प्रशंसा गरेपछि…



काठमाडौं- जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसदमै पारस पत्नी हिमानी शाहको प्रशंसा गरेका छन् । उनले भारतीय महिलाप्रति पूर्वाग्रह राखेर नागरिकतासम्बन्धी कानून बनाइएको बताउँदै उनको तारिफ गरेका हुन् ।

सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद यादवले नेपालीसँग बिहे गर्ने भारतीय नारीहरु संघीय संसद र प्रदेश सभामा रहेको बताउँदै पूर्वराजाका रानी, पशुपति शमसेर जबरा लगायत राणाहरुका श्रीमति पनि भारतीय नारी भएको स्मरण गरेका छन् ।

उनले संसदको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी ऐनमा वैवाहिक अंगिकृतलाई सात वर्षे प्रावधान राखेर विभेदपूर्ण व्यवस्था गरेको बताएका छन् ।

‘नेपालीसँग बिहे गर्ने भारतीय नारीहरु संघीय संसद र प्रदेश सभामा समेत सांसद रहेको र उनीहरुले के राष्ट्रघात गरेका छन्,’ उनले भने, ‘पूर्वराजाहरुका रानीहरु पनि भारतीय नारी नै थिए, पशुपति शमसेर लगायत राणाहरुका श्रीमति पनि भारतीय नारी नै हुन्, उनीहरुले के राष्ट्रघात गरे ?’

सांसद यादवले पूर्वयुवराज पारसकी श्रीमती हिमानीको उदाहरण दिँदै भारतीय नारीहरु कति संस्कारयुक्त हुन्छन् भन्ने कुरा नेपालीहरुले उनीबाट सिक्न पनि आग्रह गरेका छन् ।

‘पारसको चर्तिकलाबारे सबैलाई थाहै छ, लठ्ठू भएर हिंड्ने, गाँजा खाने, के के गर्ने, त्यो सबैलाई थाहा छ,’ उनले भने, ‘तर उनकी श्रीमती हिमानीको कुरा गरौं– उनले कस्तो संस्कार पाएकी छिन्, श्रीमान जस्तो भए पनि भारतीय नारीले सिन्दूरको कदर कसरी गर्छन्, कसैले सिक्न चाहन्छ भने हिमानीसँग सिकोस् ।’