आज चट्याङ र चर्को हावाहुरीको सम्भावना, ज्यान जोगाउन आग्रह - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

आज चट्याङ र चर्को हावाहुरीको सम्भावना, ज्यान जोगाउन आग्रह



काठमाडौं- आज (बिहीबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी आउने र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला काठमाडौं उपत्यकाका केही ठाउँमा मेघगर्जन सुरु भइसेको छ।

‘काठमाडौं उपत्यकाका उत्तर-पश्चिम तथा नुवाकोट, धादिङ र रसुवामा बिहानै मेघगर्जन, वर्षा र हावाहुरी सुरु भइसकेको छ,’ बिहीबार बिहान उनले भनिन्, ‘यो बिस्तारै देशका अन्य स्थानमा पनि सुरु हुने क्रममा छ।’

मौसविद् बासीका अनुसार आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ।

‘वर्षा पनि हुन्छ तर हल्का,’ उनले भनिन्, ‘अहिले बाढीपहिरो जाने वर्षा त हुँदैन तर डर हावाहुरी र चट्याङको हो, कतिपय ठाउँमा चट्याङले मानिसको ज्यान लिइरहेको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ।’

उनका अनुसार आज त्यस्तो ठूलै खालको हावाहुरी नआए पनि सामान्यभन्दा अलि बलियै खालको आउने सम्भावना छ।