खोपले मात्रै कोरोनाबाट जोगाउँदैन - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

खोपले मात्रै कोरोनाबाट जोगाउँदैन



काठमाडौं- कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाउँदा ७०–८० प्रतिशत मात्रै सुरक्षा प्रदान गर्छ ।

त्यसैले अनिवार्य रूपमा खोपका दुवै मात्रा लगाएको हुनुपर्ने, खोप लगाएको छ महिना मात्रै काम गर्ने र खोप तथा स्वास्थ्य मापदण्ड पालना दुवै एकसाथ भए मात्र कोरोना सङ्क्रमणबाट पूर्ण रूपमा बच्न सकिने स्वास्थ्यविद्हरूले बताउँदै आएका छन् ।

खोप लगाएकै छ नि भनेर मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने वा नियमित रूपमा साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालनालाई नगरेकै कारण कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको चर्चा गर्दै उनीहरू भन्छन्, “खोपले सङ्क्रमित व्यक्तिलाई गम्भीर अवस्थामा पुग्नबाट मात्रै जोगाउँछ, सङ्क्रमण हुनै रोक्ने हैन ।”

स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख डा. झलक गौतमले कोरोनाबाट सुरक्षित हुन अनिवार्य रूपमा खोपका दुवै मात्रा पूरा गर्नुपर्ने जानकारी दिँदै खोपको एक मात्रा मात्रैको प्रभावकारिता झन् कम हुने बताएको गोरखापत्रले लेखेको छ ।

डा. गौतमले भने, “कोभिसिल्ड खोपको हकमा दुवै मात्रा लगाएपछि ७० प्रतिशत सुरक्षा दिन्छ, त्यसैले खोप लगाएपछि जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ ।”