देउवालाई उपेन्द्रको प्रस्ताव: ओलीको विकल्प खोजौं, लिड गर्नुस - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

देउवालाई उपेन्द्रको प्रस्ताव: ओलीको विकल्प खोजौं, लिड गर्नुस



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

बुधबार सभापति देउवा निवास भएको भेटवार्तामा पछिल्लो समय विकशित राजनीतिक घटनाक्रम र सरकार गठनका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । भेटवार्ताका क्रममा अध्यक्ष यादवले सभापति देउवालाई नयाँ सरकार गठनका विषयमा नेतृत्व लिन आग्रह गरेका थिए ।

‘ओली सरकारको विकल्प खोजौं । पार्टीभित्रको विवाद हामी हल गरेर नयाँ सरकार गठनको प्रक्रियामा जाऔं । त्यसका नेतृत्व तपाईले गर्नुपर्यो’, यादवले प्रस्ताव गरे ।

जवाफमा सभापति देउवाले जसपाले केपी शर्मा अ‍ोलीसँग साँठगाँठ गरिरहेको र आफूहरु अल्पमतमा पर्ने बताएका थिए ।

‘सरकारमा जान अहिले हामीसँग बहुमत छैन् । तपाईकै पार्टीका नेताहरु ओलीसँग वार्ता गरिरहेका छन् । नयाँ सरकार गठन गर्न तत्काल सम्भव छैन्’, देउवाले जवाफ दिए ।

जसपाभित्र अहिले दुई धार देखा परेको छ । उपेन्द्र यादव र महन्थ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा जानुपर्ने बताउँदै आइरहेको छ भने उपेन्द्र बाबुराम भट्टराई पक्षले नयाँ सरकार गठन गर्नुपर्ने बताउँदै आएको छ । सरकारमा जाने विषयमा कुरा नमिलेपछि जसपाभित्र विवाद चर्किरहेको छ ।

सरकारले पनि जसपाका माग पूरा गर्न वार्ता टोली गठन गरेको छ । टोलीले आफ्ना काम अघि बढाइसकेको छ । जसपाका माग पूरा गर्नका लागि सरकार र थारू कल्याणकारिणी सभाका प्रतिनिधिबीच वार्ता सुरु भएको हो ।

गृहमन्त्री रामवहादुर थापा बादलको संयोजक रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् । यता थारुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी रहेको रहेका छन् ।

कल्याणकारिणी सभा, थरुहट–थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले सरकारसमक्ष रेशम चौधरीको रिहाइ लगायतका १९ बुँदे माग राखेको छ । कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित चौधरी टीकापुर घटना सम्बन्धी मुद्दामा जेलमा छन् ।