त्रिभुवन विश्वविद्यालयमा रोकिएका परिक्षा दशैँपछि मात्र हुने
काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनमा रोकिएको परीक्षा दशैंअगाडि सञ्चालन नगर्ने भएको छ। नेपालमा दिन-प्रतिदिन कोरोना संक्रमित बढ्दै गएकोले दशैं अगाडि परीक्षा सञ्चालन गर्ने सम्भावना नरहेको त्रिविका रजिष्टार पेशल दाहालले जानकारी दिएका छन्।
‘नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ,’ उनले भने, ‘तत्काल परीक्षा सञ्चालन गर्ने अवस्था नै छैन, ३५ दिनको समय निकालेर सूचना जारी गर्नुपर्छ। अब त्यो समय हामीसँग नै छैन, कसरी परीक्षा गराउने भन्ने विषयमा निर्णय नै हुन सकेको छैन, त्यसैले दशैं अगाडि परीक्षा गराउने कुनै सम्भावना नै छैन।’
उनले यो संकटको बेला विद्यार्थीलाई तनावमा नराख्ने बताए। उनले भने, ‘परीक्षा भनेको खेल खेलेजस्तो होइन, यो संवेदनशील विषय हो, क्षणिक निर्णयले हुँदैन, यस्तो समयमा विद्यार्थीलाई प्रेसर दिन मिल्दैन।’ परीक्षाको विषयमा बाहिर गलत सन्देश फैलाएर झनै विद्यार्थीलाई चिन्तित बनाएको भन्दै उनले गुनासो पोखे।
रजिष्टार दाहालले थोरै विद्यार्थी भएका संकायको भने दशैं अगाडि नै परीक्षा सञ्चालन गर्ने सम्भावना रहेको बताए। अहिले कुन विधिबाट परीक्षा गराउने भन्ने बारेमा डिन कार्यालयमा भने छलफल भैरहेको उनले जानकारी दिए।
‘अनलाइनमार्फत, सामाजिक दुरी कायम गरेर वा कसरी हुन्छ, चार वटा स्वरुपबाट परीक्षा गराउने भन्ने बारेमा डिन कार्यालयमा छलफल भने चलेको छ,’ उनले भने, ‘थोरै विद्यार्थी भएका कलेज र संकायको परीक्षा भने सामाजिक दुरी कायम गरेर वा भर्चुअलबाट दशैं अगाडि नै हुन सक्छ।’ उनका अनुसार कृषिलगायत थोरै विद्यार्थी भएका संकायको परीक्षा भने दशैं अगाडि नै हुने सम्भावना छ।
तर,मानविकी र व्यवस्थापन लगायत धेरै विद्यार्थी भएको संकायको परीक्षा भने दशैं अगाडि सञ्चालन हुने छैन। ‘थोरै विद्यार्थी भएकाहरुको परीक्षा गराउन सकिन्छ,’ उनले भने, ‘धेरै विद्यार्थी भएको संकायमा परीक्षा सञ्चालन गर्न सकिन्न, सम्भव नै छैन।’
त्रिविले विद्यार्थीको खोजीकार्य सुरु गरेको छ। उनले भने, ‘कोरोना त्रासले धेरै विद्यार्थी गाउँमै छन्, उनीहरु कुन अवस्था र कहाँ छन् भनी हामीले खोजीकार्य सुरु गरेका छौँ।’ विद्यार्थीहरुको अवस्थाबारे सबै खोजीकार्य गरिसकेपछि थप निर्णय हुने दाहालले बताए।
संकट हुँदै गएमा कुन विधिबाट परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा ठोस निर्णय हुने र यी सबै काम यो महिनाभित्र सकिने उनले जानकारी दिए। ‘अनलाइन कक्षामा सहभागी हुन अनुरोध गर्नु दुर्भाग्यपूर्ण’ त्रिविले विद्यार्थीहरुलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध गरेको छ।
विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग, स्कूल र क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरिएको हो। तर, यो संकटमा यो कदम चाल्नु गलत भएको भन्दै विद्यार्थी संगठनका विद्यार्थी नेताले आपत्ति जनाएका छन्।