टुटल र पठाओ कसैले बन्द गर्न सक्दैन: मन्त्री नेम्वाङ
काठमाडौं- यातायात व्यवस्था तथा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ टुटल र पठाओको पक्षमा उभिएका छन् ।
टुटल र पठाओ बन्द गर्नेगरी यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गरेपछि ट्याक्सी व्यवसायीहरूसँग बुधबार साँझ मन्त्रालयमा मन्त्री नेम्वाङले छलफल गरेका छन् ।
सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा १२ को उपदफा १ लाई आधार मान्दै विभागले २७ फागुनमा विज्ञप्ति जारी गरेको थियो ।
विज्ञप्तिमा टुटल र पठाओ जस्ता राइडर बन्द गर्न निर्देशन दिइएको छ। तर, मन्त्री नेम्वाङले यसबारे विभागले बोल्न नमिल्ने बताएका छन् ।
मन्त्री नेम्वाङले व्यवसायीहरूलाई पनि यिनै कुरा बताएका थिए । यातायात सञ्चालन सम्बन्धी क्षेत्राधिकार प्रदेश सरकारको भएको र यस सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले तत्काल कुनै निर्णय नलिन मन्त्री नेम्वाङले व्यवसायीहरूलाई आग्रह गरेका थिए ।
व्यवासयीहरुले गएको २९ मंसीरमा दायर गरेको रीटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्काल टुटल र पठाओ बन्द गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । तर, यातायात व्यवस्था विभागलाई भने कारण देखाउ आदेश जारी गर्यो ।
मन्त्री नेम्वाङले पनि अदालतको निर्णय पर्खनुपर्ने भएकाले विभागलाई तत्काल कुनै कदम नचाल्न निर्देशन दिएका छन् । मन्त्री नेम्वाङकै निर्देशनमा विभागले बिहीबार दिउँसो पत्रकार सम्मेलनमार्फत् आफ्नो कुरा राख्ने तयारी गरेको छ ।