मन्त्रिपरिषद् बैठक जारी, नयाँ आइजीपी ठाकुर ज्ञवाली - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

मन्त्रिपरिषद् बैठक जारी, नयाँ आइजीपी ठाकुर ज्ञवाली



काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

नेपाल प्रहरीका २७औँ आइजीपी छान्‍नका लागि मन्त्रिपरिषद् बसेको हो। २६औँ आइजीपी सर्वेन्द्र खनालले आजै अवकाश लिने भएपछि सरकारले नेपाल प्रहरीको नयाँ आइजीपीमा एक नम्बर प्रदेशका डिआइजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने तयारी गरेको हो।

आइजीपीमा नियुक्त हुने भएपछि ज्ञवाली विराटनगरबाट बुधबारै काठमाडौं आइसकेका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद्ले आइजीपीको टुंगो गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएको थियो।

उक्त छलफलमा दुवै नेता ज्ञवालीलाई महानिरीक्षक बनाउन सहमत भएका थिए। प्रधानमन्त्रीसँगको सल्लाहपछि गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीको नाम मन्त्रिपरिषद्‍मा लगेका छन्।

गृहमन्त्रालय श्रोतका अनुसार ज्ञवालीको नाममा प्रधानमन्त्रीले पनि सहमति जनाइसकेकाले गृहमन्त्रीले उनको नाममा मन्त्रिपरिषद्‍मा प्रस्ताव गर्दैछन्।

नयाँ आइजीपीका लागि डीआइजीहरु तारिणी लम्साल र सूर्य उपाध्याय पनि प्रतिस्पर्धामा थिए। तर सरकारले वरियताको पहिलो नम्बरमा रहेका ज्ञवालीलाई आइजीपी बनाउने भएको हो।