तक्मामा चुच्चे नक्सा हटाएकोबारे सरकारले मुख खोल्यो - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

तक्मामा चुच्चे नक्सा हटाएकोबारे सरकारले मुख खोल्यो



काठमाडौं- सरकारले राज्यलाई योगदान गरेका नागरिकलाई प्रदान गरिएको तक्मामा चुच्चे मक्सा हटाएको बिषय विवादित बनेपछि सरकारले मुख खोलेको छ।

विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने नागरिकलाई प्रदान गरिएको विभूषण (तक्मा) मा अंकित नेपालको नक्सामा भारतले अतिक्रमण गरेको भूमि नसमेटिएको भन्दै व्यापक आलोचना भएपछि सरकारले स्पष्टीकरण दिएको हो।

२०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणाअनुसार शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गरेका विभूषणमा राखिएका नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छैनन्। राष्ट्रिय रूपमा महत्त्वपूर्ण तक्मामै यसरी एकाएक अतिक्रमित भूमि गायब गरिएको भन्दै विभिन्न शंका व्यक्त गरिएपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गरी स्पष्टीकरण दिएको हो।

मन्त्रालयका अनुसार नेपालको नयाँ नक्सा जारी हुनुअघि नै विभूषण बनाइएकाले त्यसमा पुरानै नक्सा रहेको हो।

यस्तो छ मन्त्रालयले दिएको स्पष्टीकरण :
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने महानुभावहरूसाई संवत् २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा भई २०७७ वैशाख १ मा वितरणको लागि तयार गरिएका विभूषणमा अंकित नेपालको नक्सा सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै उल्लिखित विभूषणहरूमा अंकित भएको छ। कोभिड–१९ को कारणबाट २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकोले हाल सुशोभन भएको हो। नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएको विभूषणमा सोहीबमोजिमको नयाँ नक्सा अंकित भएको र यसको सुशोभन आगामी २०७८ वैशाख १ मा गरिने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ।