स्वास्थ्य मन्त्रालयको चेतावनी: आगामी दिनहरू हाम्रालागि निकै कठिन छन्
काठमाडौँ– स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका कारण उत्पन्न विश्वव्यापी संकटका बीच नेपालका लागि आउने दिनहरु कठिन हुन सक्ने चेतावनी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समयमै पर्याप्त कामहरु गर्न नसके आउने दिनहरु कठिन बन्न सक्ने संकेत गरे ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा डा. देवकोटाले भने, ‘कसैका लागि पनि समय प्रशस्त हुन्नँ । थोरै समयमा धेरै कार्य गर्नुपर्ने हुन्छ । नेपालमा संक्रमितको संख्या र अवस्था जटिल नभएको अवस्थामा हामीलाई रोकथामका लागि अवसर पनि छ । जहाँ छौँ आ–आफ्नो भूमिका निर्वाह गरौँ । आउने दिनहरु हाम्रा लागि कठिन हुन सक्छन् ।’
उनले मन्त्रालयले परीक्षणको दायरा बढाउने प्रयास गरिरहेको जानकारी दिए । अस्पतालहरुमा उपचारको उचित व्यवस्थापनको काम पनि भइरहेको जानकारी दिँदै उनले भने, ‘व्यक्तिगत सरसफाइमा जोड दिँदै, सामाजिक दूरी समेत कायम गरेर लकडाउन लगायत सरकारी निर्देशनको पालना गरौँ ।
सरकारको आव्हान अनुसार आज साँझ सात बजे कोरोनाको रोकथाम र उपचारमा खटिएकाहरुको सम्मानमा दीप प्रज्वलनमा सहभागि भइदिन प्रवक्ता देवकोटाले आग्रह गरे।
नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका थप संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा. देवकोटाले गत चौबिस घण्टामा १४ सय ५१ जनाको परीक्षण गरिएको जानकारी दिए ।
उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म नपालमा ९९ जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये उपचारपछि डिस्चार्ज भइसकेका तीन जनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए । हालसम्म नेपालमा १४ हजार ५ सय ९ जनाको पीसीआर विधिबाट र ५४ हजार ९३ जनाको आरडिटी विधिबाट परीक्षण भएको डा। देवकोटाले जानकारी दिए ।
उनले कोरोनाका उच्च जोखिम देखिएको नेपालगञ्ज र उदयपुरमा परीक्षणका लागि नेपाली सेनाको टोली समेत खटिएको जानकारी दिए ।