ह्याक भएको स्थानीय तहको सबै डाटा 'रिकभर' - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

ह्याक भएको स्थानीय तहको सबै डाटा ‘रिकभर’



काठमाडौं- केहिदिन अगाडी ह्याक भएको स्थानीय तहको सबै डाटा ‘रिकभर’ भएको जनाइएको छ । महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको स्थानीय तहको लेखाप्रणालीका सबै तथ्यांक ‘रिकभर’ भएको जनाइएको हो ।

महालेखा नियन्त्रकको कार्यालयले ७ सय ५३ वटै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर ‘स्थानीय कोष व्यवस्थापन प्रणाली’ (सूत्र) ह्याक भएकामा अहिले सबै तथ्यांक रिकभर गर्न सफल भएको जनाएको छ ।

कार्यालयका सह–महालेखानियन्त्रक रमेशप्रसाद शिवाकोटीले पुस ४ गते उक्त सफ्टवेर ह्याक भएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

शिवाकोटीका अनुसार मंसिर ११ देखि पुस ४ गतेसम्मको सबै तथ्यांकहरू नष्ट भएकामा गत शुक्रबार रिकभर गर्न महालेखा सफल भएको छ ।

शिवाकोटीले स्थानीय तहको ३९ हजार भौचर नष्ट भएकामा १७ हजार भौचर पुनः प्रवृष्टि गरिएको बताउँदै अहिले सबै तथ्यांक रिकभर भएपछि सोमबारदेखि सबै स्थानीय तहको हराएको भौचर सिस्टममा देखाउने बताए ।

उनले सफ्टवेर ह्याक भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरिसकेको र कसले कहाँबाट ह्याक गर्‍यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समेत जानकारी दिए ।

२०७६ वैशाख २३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले ०७५/७६ बाट स्थानीय तहको बजेट, राजस्व र लेखाङ्कनको व्यवस्थापन गर्ने सफ्टवेर ‘सूत्र’ कार्यान्वयनमा ल्याएको थियो ।

‘सूत्र’ ह्याक भई तथ्यांक हराउँदा अधिकांश स्थानीय तहको लेखासम्बन्धी काम प्रभावित भएको थियो ।