सूर्यको आराधना गरी छठ पर्व मनाइँदै
काठमाडौँ, कात्तिक ९ गते ।
आराध्यदेव सूर्यको आराधना गरी महापर्व छठ बिहीबार धुमधामका साथ मनाइँदैछ । केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व अहिले राजधानीलगायत मुलुकको प्रमुख सहरमा पनि विस्तार भएको छ । अचेल यो पर्व पहाडी समुदायमा समेत त्यतिकै लोकप्रिय बन्दैछ ।
विभिन्न कामले राजधानी र अन्य सहरमा बसोबास गर्दै आएका तराईबासीहरू छठ पर्व मनाउन प्राय : आ–आफ्नो गाउँ नै जान्थे तर यताका वर्षहरूमा भने आआफ्नै थातथलोमा पनि छठ जम्न थालेको छ । त्यस क्रममा राजधानीमै केही वर्षदेखि छठको रौनक देखिन थालेको छ ।
वीरगन्ज घर भई अहिले राजधानीको कालिमाटीमा बस्दै आउनुभएका प्रवीणकुमार गिरी आफू बसेको र कार्यरत रहेको ठाउँमा नै चाडपर्व मनाउनुपर्ने बताउनुहुन्छ । चाडपर्व अरू ठाउँमा मनाउनाले सांस्कृतिक आदानप्रदान समेत हुने उहाँको तर्क छ ।
त्यस्तै, रौतहटको सुगा घर भई व्यापार व्यवसायको सिलसिलामा अहिले राजधानीको सीतापाइलामा बस्दै आउनुभएका प्रभुनारायण यादव चाडपर्व आस्था र विश्वासका साथ जहाँ मनाए पनि फरक नपर्ने र झन् आफ्नो संस्कृतिको प्रसार हुने बताउनुहुन्छ । यस पर्वलाई विशेष चित्तशुद्धि, हर्षोल्लास, परिवारिक मिलन, मित्रजन तथा आफन्तजनसँगको भेटको अवसरको रूपमा लिनुपर्ने जानकारको भनाइ छ । धनी–गरिब, हिन्दु–मुस्लिम, महिला–पुरुष, पहाडी–मधेसी सबै वर्ग समुदायले मनाउने यस पर्वले मुलुकमा सामाजिक सामानता कायम गर्न मद्दत पु¥याएको यादवको धारणा छ ।
पूर्वीय सभ्यतामाथि आक्रमण बढ्दै गएको अहिलेको अवस्थामा यस पर्वको व्रतालु र श्रद्धालु वृद्धि हुनुले यस पर्वको महत्व बढ्दै गएको तर्क गर्नुहुन्छ भारतको उत्तर प्रदेश घर भई अहिले असनमा व्यापार व्यवसाय गर्दै आउनुभएका सुदर्शनप्रसाद जैसवाल । कात्तिक महिनाको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिका साथ तयारी गरिने यस पर्वको विषयमा
विभिन्न कथा र किंवदन्ती पाइए पनि स्पष्ट तथ्यको अभाव देखिएको छ । संस्कृतिविद् डा. रामदयाल राकेश सत्ययुगमा सरयाती नामका राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व गरेको बताउनुहुन्छ । महाभारतको प्रसङ्गलाई उल्लेख गर्दै उहाँले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको बताउनुहुन्छ । त्यस बेलादेखि नै छठ पर्वको जनस्तरमा सुरुआत भएको धेरैको विश्वास छ । त्यसैगरी, सूर्यपुराणमा अत्रिमुनिका अर्धाङ्गनी सति अनुसुयाले छठ पर्व गरेको उल्लेख पाइन्छ ।
साम्ब पुराणका अनुसार पिता श्रीकृष्णको श्रापबाट कुष्टरोगले पीडित श्रीकृष्णपुत्र साम्ब सूर्यपूजा आराधनाबाट रोगमुक्त भएको चर्चा छ । त्यस बेलादेखि नै छठ पर्वको प्राररम्भ भएको कतिपयको विश्वास छ ।
त्यस्तै, कुष्टरोगबाट नै पीडित कवि मयूर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ्य शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुआत भएको संस्कृतिविद् डा. राकेशको भनाइ छ । वैज्ञानिक दृष्टिकोणले पनि छठ पर्वको विशेष महत्व रहेको डा. मुरारिप्रसाद श्रीवास्तव बताउनुहुन्छ । उहाँका अनुसार संसारको सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छ । सूर्यको किरणमा पाइने भिटामिन डी लगायतका तत्वहरूले सम्पूर्ण प्राणी जगत्लाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा जीवन प्रदान गरिरहेको हुन्छ । त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको पाइन्छ ।
छठ पर्वको विधिबारे जानकारी दिँदै नवलपरासीकी शोभा त्रिपाठी भन्नुहुन्छे, “छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि विशेष शुद्धाशुद्धि अपनाइन्छ । यस दिनदेखि व्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्छ । यस पर्वको पहिलो दिनलाई ‘नहान–खान’ भनिन्छ । यो दिन व्रतालुहरूले स्नान ध्यान गरी खास गरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्छन् । ”
उहाँका अनुसार दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ । यो दिन व्रतालुहरू दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र भाँडामा सख्खर, दूध र चामलको खीर पकाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको सो खीरलाई व्रतालु र परिवारका अन्य सदस्यहरूले प्रसादका रूपमा ग्रहण गर्छन् । छठी पूजा नहुने टोल छिमेकको घरमा सो खीर प्रसादको रूपमा पठाइन्छ ।
यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिनलाई यस पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । षष्ठी अर्थात् यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ । यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा कसारलगायत परिकारहरू तेलघ्यूमा पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरीका मिठाइ, ऊखु, अदुवा, नरिबल, मूला, सुथनी, सुपारी, ल्वाङ, सुकुमेललगायत प्रसादहरू बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दूधसहित व्रतालुहरू परिवारका सदस्यहरूसहित नजिकको जलाशयमा जान्छन् र व्रतालुहरू अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । अध्र्य दिएपछि व्रतालुहरू घर फर्कन्छन् ।
कतिपय व्रतालुहरू घर नफर्किएर पूजास्थलमै रातभरि जाग्राम बस्छन् । त्यहाँ कसैकसैले भाकल गरेअनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोशिया’ भनिन्छ । भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई शुक्रबार बिहान अध्र्य दिएपछि यो महापर्व यही सम्पन्न भएको मानिन्छ । आर्थिक र भौतिक रूपले अनुत्पादक भइसकेपछि आमाबाबुलाई समेत महत्व दिन छोडिएको आजको समाजमा अस्ताउँदो सूर्यको पूजाले मानिसलाई नैतिक शिक्षा समेत दिने गरेको पण्डित करुणानन्द मिश्र बताउनुहुन्छ । जातीय, क्षेत्रीय र वर्गीय मुद्दामा विभाजित हुन लागेको अहिलेको हाम्रो समाजमा धनी–गरिब, हिन्दु–मुस्लिम, महिला–पुरुष, पहाडी–मधेसी सबै वर्ग समुदायले मनाउने यस पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई समेत मद्दत पुगेको उहाँको धारणा छ ।