डा. सुन्दरमणि दीक्षितलाई कारबाहीको माग: ६ महिना कैद हुनसक्ने
काठमाडौं- डा सुन्दरमणि दीक्षितलाई कारबाही गर्न माग गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उनलाई कारबाही गर्नुपर्ने माग उठेको हो ।
बिहीबार गृह मन्त्रालयमा बसेको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले हालसम्म ५१२ जनाको नेपालमा परीक्षण गर्दा नेगेटिभ भएको पाइएको बताए।
सरकारी निकायले नेगेटिभ भएको तथ्य प्रस्तुत गर्दागर्दै दीक्षितले भने सार्वजनिक कार्यक्रममा नै नेपालमा परीक्षण गर्ने किट नै नभएको र परीक्षण नै नगरी नेगेटिभ भएको मात्र सरकारले दाबी गरेको आरोप लगाएका थिए।
महानिर्देशक श्रेष्ठले कोरोना भाइरसको संक्रमणका विषयमा तथ्य प्रस्तुत गरिसकेपछि बैठकमा सहभागीले डा दीक्षितले अफवाह फैलाएको भन्दै कारबाही माग गरेका थिए।
बैठकमा गृहमन्त्री रामबहादुर थापासहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाङसमेत उपस्थित थिए।
२१ मन्त्रालय र स्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै विभागका प्रमुखहरूले पूर्वसतर्कताका लागि मन्त्रालय तथा विभागले गरेका तयारीबारे जानकारी गराएका थिए।
अफवाह फैलाएको ठहर भएमा एक लाख रुपैयाँ जरिवाना र ६ महिनासम्म कैद वा दुवै हुने सजाय हुने व्यवस्था छ।