अबको चुनावमा काङ्ग्रेसलाई मैले पनि भोट हाल्दिन: सुजाता कोइराला - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

अबको चुनावमा काङ्ग्रेसलाई मैले पनि भोट हाल्दिन: सुजाता कोइराला



बुटवल – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आउने चुनावमा आफूले पनि काङ्ग्रेस पार्टीलाई भोट नहाल्ने बताएकी छन् ।

उनले कांग्रेसमा विवाद कायम रहे अर्को चुनावमा पार्टीको जित शून्यमा झर्ने बताउँदै आफूले पनि भोट हाल्न नसक्ने बताएकी हुन् ।

नेपाल प्रेस युनियन रूपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीभित्र भइरहेको विवादले पार्टीको लोकप्रियता गुम्दै गएको बताइन् ।

‘पार्टीको विवाद र झगडा देखेर त मलाई पनि अर्को चुनावमा भोट हाल्दा मेरो हात काँप्छ जस्तो लाग्न थालिसक्यो’, उनले भनिन् ।

उनले पार्टीको विवादप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन् ‘म पार्टीमा यति समय लागेँ, त्यत्रो मानेको नेता गिरिजाप्रसाद कोइरालाको छोरी, मलाई नै कांग्रेसको शैलीप्रति चित्त बुझेको छैन, जनतालाई कसरी चित्त बुझ्छ होला ?’

उनले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी कमजोर बनिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

‘सभापतिले आफूलाई मात्रै हेर्ने हो कि पूरा पार्टी र जनताको फाइदा हेर्नुपर्यो नि, सधैँभरि आफ्नै फाइदा हेरेर पार्टी बन्दैन, उनले भनिन् ‘यसरी हुँदैन, पार्टी बनाउने हो भने सबैलाई मिलाएर अघि बढ्नुपर्छ ।’

उनले पार्टीमा भइरहेको विवादका कारण आफू निष्क्रिय हुँदै गएको बताइन् ।

उनले निर्मला हत्याकाण्डमा सरकारको लापरबाही देखिएको भन्दै यो विषयमा आवाज उठाएर दोषीलाई कारबाही गराउन दबाब दिनुपर्ने बताइन् ।