ओलीलाई सुधार्न सकिएन, अब नेतृत्व परिवर्तन: प्रचण्ड-नेपाल समूह
काठमाडौं– सत्तारुढ दल नेकपाभत्रको विवाद जारी रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार्न नसकिएको भन्दै नेतृत्व परिवर्तनको विकल्प नरहेको बताएका छन् ।
काठमाडौंको बिजलुीबजारमा बुधबार सीमित पत्रकार भेला आयोजना गरी ओलीले एकलौटी पार्टी चलाउन खोजेको आरोप समेत लगाएका छन्।
नेताहरूले अध्यक्ष ओली एकलौटी एक्लै हिँड्न खोजेको बताएका हुन्। उनीहरुले ओलीलाई आफू पार्टीभन्दा माथि रहेको भ्रम रहेकाे भन्दै उनकाे आलाेचना गरे। ओलीले पार्टीको विधिपद्धति समेत लत्याउँदै हिँड्न खोजेको नेताहरुको आरोप छ।
अध्यक्ष दाहालले पार्टीमा आफू मात्रै सबैथोक भएको भन्ने अहम् ओलीमा देखिएको भन्दै सरकारले एकपछि अर्काे विवादित काम गरिरहेको आरोप लगाए।
वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीले हालै भएका राजनीतिक नियुक्तिप्रति आपत्ति जनाउँदै पार्टीलाई कमजोर बनाउने काममा लागेको आरोप लगाए।
अर्का वरिष्ठ नेता झलनाथ खनालले ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा पार्टीभित्र गुट चलाएको आरोप लगाए।
प्रवक्ता नारायणकाजी श्रेष्ठले नेतृत्वलाई सच्चाउन प्रयास गरिए पनि नसकिएको भन्दै अब नेतृत्व परिवर्तन गरेर अघि बढ्नु आवश्यक देखिएको बताए।
भेलामा स्थायी कमिटी सदस्य रघुजी पन्त, पम्फा भुसाललगायत पनि थिए।