स्थायी समिति बैठक सर्‍यो - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

स्थायी समिति बैठक सर्‍यो



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बिहीबारका लागि डाकिएको स्थायी समिति बैठक सर्ने भएको छ। सचिवालय बैठकपछि दुई अध्यक्षको सल्लाहमा बैठक सार्ने सहमति भएको हो ।

सचिवालय बैठकबाट एकाएक उठेर हिडेका प्रधानमन्त्री ओली स्थायी समिति बैठक राख्न अनिच्छुक देखिएको बताइएको छ ।

स्थायी समितिको बैठकका लागि एजेन्डा तयार गर्न र बाँकी छलफल गर्न बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठकमै चर्काचर्की भएपछि बिचमै प्रधानमन्त्री ओली हिडेका थिए ।

प्रधानमन्त्री ओलीले बैठकमा पेस गर्ने प्रस्ताव तयार पार्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिइएको बताएका थिए ।

आफू थाकेको र अब बस्न नसक्ने बताएर प्रधानमन्त्री ओली बैठकबाट उठेका थिए । प्रधानमन्त्री यति भनेर बैठकबाट बाहिरिएपछि बैठकमा नफर्केकाले उपस्थित नेताहरू अलमल्ल परेका थिए ।

बैठकमा सहभागी बरिष्ठ नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री हिँडेपछि बाँकी ८ जनाले सचिवालय बैठक डाक्ने/नडाक्ने, कस्तो प्रस्ताव पेस गर्ने भन्नेबारे दुई अध्यक्षले निर्णय गर्नुपर्ने सुझाव दिएका थिए।

सचिवालय बैठक सकिएपछि ओली र प्रचण्डबीच बालुवाटारमा एक्लाएक्लै भेट भएको छ।