पर्साका सबै संक्रमित स्थानीय: समुदायमै कोरोना फैलिएपछि थपियो त्रास - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

पर्साका सबै संक्रमित स्थानीय: समुदायमै कोरोना फैलिएपछि थपियो त्रास



काठमाडौं- नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा मंगलबार पुष्टि भएका सबै संक्रमित वीरगन्जका स्थानीय नै भएकाे अस्पतालले जनाएकाे छ।

नारायणी उपक्षेत्रीय अस्पतालका वीरगन्जमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले वीरगन्जमा स्थानीयबाट संकलन गरिएको स्वाबमा परीक्षण गर्दा ३९ जना नयाँ संक्रमित भेटिएको बताए।

‘वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा हामीले दुई दिनमा ६ सय ८० जनाका स्वाब संकलन गरेका थियौँ। त्यो मध्ये ३९ जनामा कोभिड १९ देखिएको हो,’ मेसु उपाध्यायले भने, ‘केहीलाई संभावनाका आधारमा जाँच गरिएकाे हाे, केही पहिले संक्रमितको सम्पर्कमा पुगेका र केहीले स्वस्फूर्त: रुपमा स्वाब परीक्षण गराउनु भएको थियो।’

वीरगन्ज नगरपालिका १, २, ३ र १६ नम्बर बडाबाट स्वाब संकलन गरिएको थियो।

‘संक्रमण समुदाय स्तरमै पुगेको देखिन्छ। संक्रमितहरुलाई उपचारको व्यवस्थापनको विषयमा छलफल चलिरहेको छ,’ उपाध्यायले भने, ‘अब चुनौति थपिएको छ।’

उनले वीरगञ्ज र त्यस आसपासको क्षेत्रमा परीक्षणलाई अझै व्यापाक बनाउन पर्ने आवश्यकता रहेको बताए।

पर्सामा अहिलेसम्म ६४ जना संक्रमित भेटिएका छन्। तीमध्ये तीन जना निको भएकामा दुई जनामा समस्या देखिएपछि पुन: अस्पताल भर्ना गरिएकाे छ।