उपेन्द्र यादव भन्छन: स्ट्यान्डर्ड रक्सी पिउनुस् - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

उपेन्द्र यादव भन्छन: स्ट्यान्डर्ड रक्सी पिउनुस्



सप्तरी- समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रक्सी आफ्ना कार्यकर्तालाई रक्सी नपिउन आग्रह गरेका छन् ।

राजविराजमा मंगलबार पार्टीले आयोजना गरेको सप्तरी जिल्लास्तरीय संगठन विस्तार तथा सुदृढीकरण अभियानको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले रक्सी पिएर संगठन चल्न नसक्ने बताउँदै आफ्ना नेता तथा कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।

उनले रक्सी नपिउन निर्देशन दिँदै भने, ‘रक्सी पिउनु मेरो हकको कुरा हो भन्नुहुन्छ भने पिउनुस् । तर जुत्ता, चप्पल सडाएर बनाएको रक्सी नपिउनुहोस्, केही स्ट्यान्डर्ड ब्राण्डका रक्सी पिउनुस् ,’ उनले भने, ‘तर रक्सी पिएर होस् नउडाउनुस् ।’

रक्सी पिएर आफैंलाई सुधार्न नसक्नेहरु समाजलाई कदापी सुधार्न नसक्ने बताउँदै उनले संगठनमा आबद्ध नेता कार्यकर्ता रक्सी खाएर बेहोस हुने, पान चपाएर समय बिताउने, भाषण गर्न दिए गाली गरेर, एकअर्कालाई आरोप लगाएर समय बिताउने जस्ता समस्या देखिएको भन्दै उनले यसरी पार्टी सुदृढीकरण हुन नसक्ने बताए ।

‘माइक समात्नेवित्तिकै अर्कामाथि मात्रै आरोप लगाउने धेरै हेरेको छु । यस्तो बोलाइबाट संगठन कसरी चल्छ ?’ प्रश्न गर्दै अध्यक्ष यादवले भने, ‘ठूला–ठूला भाषण गरेर मात्रै आफ्नै वडामा संगठन बनाउन सकिँदैन, कुराभन्दा कामलाई प्राथमिकता दिनुस्,’ उनले भने ।