सीमा नाकामा नेपालीहरूको बिजोग - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

सीमा नाकामा नेपालीहरूको बिजोग



दार्चुला- लकडाउन र सीमा बन्दका कारण दार्चुलापारी धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न ठाउँमा मजदुरी गरेर फर्किएका उनीहरूले महाकाली पुलको गेट नखोलिएको भन्दै आइतबार सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि उनीहरू घर फर्किएका थिए । तर, नेपाल–भारत जोड्ने पुलको गेट बन्द गरिएको हुँदा उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार आइतबार साँझसम्म धार्चुलामा पाँच सयभन्दा बढी नेपाली आइपुगेका छन् । ‘सबैलाई राख्न सदरमुकाममा क्वारेन्टाइन छैन, सरकारले नभन्दासम्म पुल खोल्न पनि सकिँदैन,’ उनले भने, ‘त्यसमाथि भारतीय पक्षले आधिकारिक जानकारी पनि दिएको छैन ।’

सरकारको सीमा नाका बन्द गर्ने निर्णयपछि गत मंगलबार ७८ र शुक्रबार दुई सय २५ नेपालीलाई दार्चुला ल्याएर सम्बन्धित गाउँपालिकाको जिम्मा लगाइएको थियो ।

नयाँ पत्रिका दैनिकका अनुसार दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेश ठगुन्नाले सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेपछि धार्चुलामा अलपत्र परेका नेपालीलाई दार्चुला ल्याइने बताए । पारि अलपत्र परेका नेपाली भारतको सोबला, दर, मुन्स्यारीलगायतका क्षेत्रमा मजदुरी गर्थे ।

उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्नाले स्थानीय सरकारहरूले क्वारेन्टाइनको तयारी नगर्दा समस्या भएको बताए । अलपत्र परेका नेपालीहरू खानसमेत नपाएको पीडा सुनाउँछन् । समूहमा बसेकाले उनीहरूमा संक्रमणको जोखिम पनि उत्तिकै छ ।