निराश छैनन् शेखर, भागबन्डा र गुटबन्दी नगर्ने उद्घोष
काठमाडौं- मंगलबार सार्वजनिक कांग्रेस सभापतिको मतगणनामा शेरबहादुर देउवाले सभापतिका प्रत्यासी शेखर कोइरालालाई ९०७ मतले पछि पारे। पहिलो चरणमा सभापतिका लागि प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा समर्थन गरेपछि शेरबहादुरले २७२४ मत प्राप्त गर्दै विजयी भएका हुन्। पहिलो चरणमा प्रतिस्पर्धा गरेका आफ्नो समूहबाहेकका सबै उम्मेदवारले देउवालाई समर्थन गरेपछि डा शेखरको मत घट्ने विश्लेषण सोही पक्षका नेताहरूले गरेका थिए। तर सभापतिको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा शेखरले पहिलो चरणमा ल्याएको भन्दा १५६ मत बढाएका थिए।
सभापतिका प्रत्यासी डा शेखरले मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नका लागि मंगलबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आयोजना गरेका थिए। सभामा उनको टिमका अधिकांश सदस्य उपस्थित थिए। पराजित उम्मेदवार भएपनि सभामा उपस्थित मतदाताहरूको संख्याका कारण उक्त टिम निराश थिएनन् नै, सभाका वक्ताहरूले खचाखच उपस्थित समर्थकहरूलाई पनि निराश हुन दिएनन्।
सभामा मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बू, रक्षामन्त्रीसमेत रहेका शेखर प्यानलका महामन्त्रीका उम्मेदवार डा मीनेन्द्र रिजाल, उपसभापतिका उम्मेदवारद्वय डा चन्द्र भण्डारी तथा धनराज गुरुङ, महामन्त्रीका उम्मेदवार गगन थापा र सहमहामन्त्री पदकी उम्मेदवार कमला पन्तले सम्बोधन गरेका थिए। यस्तै शेखरका नाममा समूह व्यवस्थापन गर्नका लागि खटिएका नेता अर्जनुनरसिंह केसी र बलबहादुर थापाले पनि सभामा सम्बोबन गरेका थिए। अन्त्यमा गुरुराज घिमिरेले कार्यक्रम समापन गर्नुअघि सभापतिका प्रत्यासी डा शेखर कोइरालाले सम्बोधन गरेका थिए। उनीहरू सबै उत्साहित देखिन्थे, सभा हेर्दा लाग्थ्यो त्यहाँ विजयोत्सव मनाइँदैछ।
कांग्रेस पुरानो ढंगले नचल्ने र बीपी कोइरालाले योगदान गरेको पार्टी भएकाले उनकै विचारअनुसार चल्नुपर्ने उपसभापतिका उम्मेदवार रिजालले निराश हुने बेला नभएको बताएका थिए।
‘निराशाको कुरा गर्ने बेला छैन। बाँकी कांग्रेस पनि ठिक बाटोमा हिँड्ने कांग्रेस बनाइछाड्छौँ। चुनाव जितौँ वा हारौँ, त्यसले महत्व राख्दैनौँ,’ उनले भनेका थिए। उनले असहज परिस्थितिमा मानिसहरूको चरित्र चिनिने भन्दै प्रकाशमान सिंह र विमलेन्द्र निधिप्रति व्यंग्यवाण प्रहार गरेका थिए। उनीहरु दुवै जनाले महाधिवेशनअघि कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए तरपछि शेरबहादुर देउवालाई समर्थन गरेका थिए। चुनावमा आफूहरू संख्याको भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने बताएका थिए।
कार्यक्रममा सम्बोधन गरेका उपसभापतिका उम्मेदवार धनराज गुरुङले सभामा सहभागीहरूमाथि ‘ऊर्जा भर्ने’ काम गरेका थिए। आफूहरु विचारको पक्षमा उभिएको र कोइरालाको मत कम भएपनि आस्था र निष्ठाले जितेको बताएका थिए।
‘हामी निष्ठा र आस्थाको पक्षमा उभिएका छौँ। हामी विचारले हारेका छैनौँ। आस्थाले निष्ठा र सदाचारले जितेको छ। त्यसैले बीपी कोइराला, महेन्द्र नारायण निधि र गणेशमान सिंहका छोराहरू उहाँहरू मात्र होइन, हामी सबै उहाँहरूका छोराहरू (राजनीतिक) हौँ,’ उनले थपेका थिए, ‘हामी अदम्य साहस लिएर अघि बढिरहन्छौँ। अघि बढ्नुस् शेखर दाइ। हामी युवाहरू तपाईंको साथमा छौँ। कुनै गुञ्जायस छैन हारको। हामी हारजित भनेर बस्दैनौँ।’
आक्रामक रूपमा प्रस्तुत भएका गुरुङले कोइरालाले ४० प्रतिशत मत ल्याएकाले आफूहरू पास भएको दाबी गरेका थिए। परिवर्तनको एजेन्डाको संवाहक आफूहरू नै भएको उनको भनाइ थियो।
अर्का वक्ता डा. चन्द्र भण्डारीले जितहार ठूलो विषय नभएको तर विचारको विजय भएको बताएका थिए। ‘हाम्रो पैतालाहरू अब रोकिँदैनन्। हाम्रा दृष्टिकोणहरू अब विलय हुँदैनन्,’ उनले सक्रिय सदस्यताको विषयलाई पनि स्पर्श गरी अप्ठेरो परिस्थितिबाट आएको बताएका थिए। उनले अर्को महाधिवेशनमा यो समूहले नेतृत्वदायी भूमिका खेल्न बताएका थिए। ‘यो टिम अघि बढ्नेछ। १५औँ महाधिवेशनमा आजैदेखि अघि बढ्नेछौँ,’ उनले भने। सिंगो पार्टीको नेता बन्नका लागि उनले देउवालाई आग्रह गरेका थिए।
अर्की वक्ता तथा सहमहामन्त्रीकी उम्मेदवार कमला पन्तले ६ वर्षसम्म परिवर्तन गर्नुपर्छ भन्दै आएका नेताहरू नै निर्णय गर्ने बेलामा तितरबितर भएको बताएकी थिइन्। ‘कल्पनाभन्दा बाहिरको अवस्था सिर्जना भयो। तैपनि जित्नैपर्छ भन्ने होइन। हाम्रो इच्छाशक्तिले लोकतन्त्र बचाउन सक्छ। कांग्रेस विधिसम्मत तरिकाले चलाउन सक्छ भन्ने सोच र हिम्मत छ,’ उनले भनेकी थिइन्, ‘यो हाम्रो जित हो भन्ने सोच हामीले बनाएका छौँ। मतपत्रले के गर्यो भन्ने भन्दा पनि विचारले देखाउने हो।’
महामन्त्रीका उम्मेदवार गगन थापाले देउवासँग आफूहरूको सम्बन्ध संघर्ष र सहकार्यको हुने बताए। सभापतिका प्रत्यासी डा शेखर कोइरालाले मतदातालाई धन्यवाद ज्ञापन गर्ने आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘सभापति जित्नु भएकोमा शेरबहादुर देउवालाई बधाई। उहाँलाई हामी सबैको सहयोग हुन्छ। जहाँ चुक्नुहुन्छ। उहाँसँग संघर्ष हुन्छ,’ उनले भने, ‘हामी हार्यौँ। तर हामी जितेकासँग हामी सबैको सहकार्य हुन्छ। पार्टीको हितमा सहकार्य, देशको हितमा हाम्रो सहकार्य। तर जहाँनिर पार्टी चुक्छ त्यहाँ संघर्ष।’
सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको बताए। कोइरालाले नवनिर्वाचित पार्टीका सभापति देउवालाई विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवादमा उत्रने चेतावनी दिएका थिए।
आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्ठा नलिएको बताएका उनले यस महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जित भएको दाबीसमेत गरेका थिए। नेता कोइरालाले महाधिवेशनले आफूलाई जनताको घरदैलोमा जाने सन्देश दिएको उल्लेख गर्दै आजैबाट उनीहरुको घरदैलोमा पुगेर आगामी महाधिवेशनमा आफ्नो विचार समूहलाई विजयी बनाउने विश्वास समेत व्यक्त गराएका थिए।
के भने शेखरले ?
सबैभन्दा पहिले त शेरबहादुरजी जो हाम्रो पार्टी सभापति पनि हुनुहुन्छ। उहाँलाई बधाई दिन चाहन्छु। साथै उहाँको चार वर्षको कार्यकालको सफलताको पनि कामना गर्दछु। उहाँसँगको प्रतिस्पर्धाको नेपाली काँग्रेसको यो आन्तरिक लोकतन्त्र हो । आन्तरिक लडाई हो हामीहरुको । स्वस्थ प्रतिस्पर्धाबाट उहाँ विजयी हुनु भएको छ । विजयी भईसकेपछि अव उहाँको टिम कस्तो आउछ, हाम्रा साथीहरु कति जित्नु हुन्छ? त्यो त मतगणना पछि निर्णय गर्नेछ । तर जसरी साढे पाँच वर्ष पार्टी व्यथितिको हिसाबले चल्यो, त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रुपले प्रस्तुत हुनेछौं।
म पराजित भएँ। निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ। त्यो स्वभाविक हो। मैले यसलाई एकदमै स्वभाविक रुपमा लिएको छु। कुनै कुण्ठा पनि छैन। कसले के गर्यो? कसो गर्यो, किन गर्यो भन्ने पनि मेरो मनमा छैन । किनभने पार्टी भित्र कसले मलाई सर्पोट गर्नु भयो, कसले गर्नु भएन, के भयो, कसो भयो? त्यो आफ्नो ठाउँमा छ। तर यो पराजयमा सबभन्दा राम्रो कुरा मैले के देखे भने–नेपाली काँग्रेसका तपाईजस्ता साथीहरु, लोकतन्त्रप्रेमी नेपाली काँग्रेसलाई माया गर्ने साथीहरु र आम जनताले हामीले लिएको कदम, हाम्रो टिमले लिएको कदमको विजयी उहाँहरुले सोच्नु भएको छ। त्यसकारण पनि हामी विजयी भएको छौं भन्ने मलाई लाग्छ। हाम्रो राजनीतिक जुन मुद्दाहरु छ। जुन एजेन्डाहरु छ। त्यो अब स्थापित भएको छ।
युवा पुस्ताको लागि नेपाली कांग्रेसभित्र अवसरै अवसर खोलिदिएका छौं। अब तपाईहरु निश्चिन्त ढंगले गाउँघरमा बस्दाखेरी ढुक्कले म नेपाली काँग्रेसको हुँ भनेर तपाईहरु बस्न सक्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु। म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणका लागि लागिसकेको छु। निरन्तर रुपमा तपाईहरुको घरदैलोमा पुग्नेछ। र मेरा टीमका साथीहरु पनि तपाईँहरुको घरदैलोमा पुग्नु हुनेछ। र आगामी अधिवेशनमा हामीहरु सफलता प्राप्त गर्नेछौं भन्ने विश्वास पनि लिएको छु।
हामीहरु भागबण्डाको राजीनीतिमा लाग्दैनौं। गुटबन्दीको राजनीतिमा हामी लाग्दैनौं। हामी हाम्रो काम गर्दै जान्छौं। राम्रो काम गर्दै गयौं भने पक्कै पनि आफै उहाँहरुलाई सोच्न बाध्य बनाउँछौ भन्ने कुरा तपाईहरुको माझ राख्न चाहन्छु। अन्तमा प्रतिनिधि साथीहरुले महाधिवेशनमा अत्यन्त मेहनत, अत्यन्त जुझारुपन वडादेखि देखाउँदै यहाँसम्म आउनु भयो। र तपाईहरुले जुन मेहनत गर्नु भयो। जुन मलाई माया दिनु भयो । सम्मान दिनु भयो, इज्जत दिनु भयो। त्यो म कहिल्यै पनि बिर्सन सक्ने छैन। यही तपाईहरुले जुन माया दिनु भएको छ । यो मायाले मेरो राजनीतिक यात्रा फेरी नयाँ ढंगले सुरु गर्छु।’
शेखरका नाममा सहमति जुटाउन र उम्मेदवारको व्यवस्थापनमा भूमिका खेलेका नेता बलबहादुर केसीले समूहले जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था आएको बताएका थिए। उनले कुखुरा बासिसकेको र उज्यालो आउने कुरालाई कसैले रोक्न नसक्ने बताएका थिए। ‘कुखुरा बासिसक्यो, उज्यालो आउँछ आउँछ,’ उनले भनेका थिए।
लोकतन्त्रमा वाद, प्रतिवाद र संवाद हुनु सुन्दरता भएको उनको भनाइ थियो। पार्टी नेताबाट होइन, नीतिबाट चल्नुपर्ने बताएका उनले चर्चित भ्रष्टाचारका काण्डमा काम गर्न प्रधानमन्त्रीलाई उनले आग्रह गरेका थिए। तर देउवाले त्यसमा चासो नदेखाएको उनले उल्लेख गरे। ‘तपाईंले आफूप्रधान पार्टी नबनाउनुस्। पार्टीलाई नीतिप्रधान बनाउनुहोस्। देउवाको सफलता कांग्रेसको सफलता होस्,’ उनले भनेका थिए।
सभामा बोल्ने अधिकांश नेताहरूले विमलेन्द्र निधि र प्रकाशमान सिंहले सुरुमा नेतृत्व परिवर्तनका लागि भन्दै उम्मेदवारी दिएका तर अन्तिम समयमा देउवालाई नै समर्थन गरेका भन्दै आलोचना गरेका थिए।
गगन थापाले आफूहरूले निधि र सिंहको युटर्नप्रति प्रश्न उठाइरहेन उद्घोष गरे। ‘मध्यरातसम्म यो नेतृत्व भयो भने देश डुब्छ। तर बिहानै यही नेतृत्व चाहिन्छ भनियो। यो किन भयो भन्ने विषयकव उत्तर उहाँहरूले दिनुपर्छ,’ थापाको भनाइ थियो। उनीहरूले आफ्ना पिताहरूको नाम भजाएर सुरुमा मत मागेको तर अन्तिम समयमा परिवर्तनकारी शक्तिको पक्षमा नउभिएर ‘धोका’ दिएको उनको भनाइ थियो।
‘हाम्रा श्रद्धेय नेताहरू कसैका प्राइभेट प्रोपर्टी होइन। उहाँहरू हाम्रो पनि नेता हो। यत्रो प्रतिकूल अवस्थामा पनि हिजो शेखर कोइरालाको मत बढ्यो,’ उनले भने। अप्ठेरो समयमा साथ दिएका नेताहरूलाई उनले धन्यवाद दिएका थिए। अन्य नेताहरूले पनि उनीहरूको उक्त निर्णयप्रति आलोचना गरेका थिए। यस्तै नेता शशांक कोइराला पनि आफ्नो पक्षमा नखुलेको भन्दै उनीप्रति पनि आक्रोश व्यक्त गरिएको थियो।
चुनावी रुपमा एक्लिए पनि शेखरले महाधिवेशनअन्तर्गत भएको निर्वाचको पहिलो चरणमा १७ सय मत ल्याए जुन मत पार्टी नेतृत्वका लागि दौडमा रहेका जोसुकैलाई पनि झस्काउने संख्या हो। यसअघि पदाधिकारी भएर काम नगरेका शेखरले प्राप्त गरेको इष्ट संख्यामा हिजो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर प्रतिनिधिहरुको अधिक मत छ। नेता पौडेल महाधिवेशन प्रक्रियाबाट नै अलग बसेपछि उनी पक्षधर मतलाई शेखरले आफ्नो पक्षमा अनुमोदन गरे। नेता पौडेलले फेरि ती आफू पक्षधर मतहरु खोस्ने कुनै गुञ्जायस छैन। त्यसैले जिते पनि हारे पनि शेखर एउटा बलशाली समूहको नेता स्थापित भए।
शेखरको टिममा आशलाग्दा युवा नेताहरू गगन थापा, मीनेन्द्र रिजाल, धनराज गुरुङ र चन्द्र भण्डारीदेखि कमला पन्त भएकाले पनि उनको टिमको उत्साह उच्च छ। यस्तै रामचन्द्र पौडेलको उत्तराधिकारीका रूपमा शेखर उदाएकाले पनि पार्टीमा उनीहरूको भूमिका देखिने गरी देखिएको अंकगणितले उनीहरूलाई निराश हुनुपर्ने अवस्था नभएको उनीहरूको विश्लेषण छ।