शशाङ्कले देउवालाई लेखेको पत्रको अर्थ के हो ? - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

शशाङ्कले देउवालाई लेखेको पत्रको अर्थ के हो ?



काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई नवलपरासी जिल्ला संगठनको विषयलाई लिएर पत्र लेखेका छन् ।

महामन्त्री कोइरालाले पार्टीको नवलपरासी (पश्चिम) को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन् ।

नवलपरासी (पश्चिम) मा सभापति देउवाले पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोख्रेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि महामन्त्री कोइरालाले असहमति जनाउँदै सो पत्र लेखेका हुन् ।

मुलुकको सङ्घीय संरचनाअनुसार नवलपरासी जिल्ला विभाजन हुँदा काँग्रेसले नवलपरासी (पश्चिम) मा रिक्त रहेको जिल्ला सभापतिको जिम्मेवारी साविक नवलपरासी जिल्लाको कार्यसमितिका उपसभापति अर्जुन पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिएको थियो ।

सभापति देउवाले यही गत फागुन २३ गते विधानबमोजिम भन्दै नवलपरासी (पश्चिम) को जिल्ला सभापतिमा विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकेका थिए ।

महामन्त्री कोइरालाले भने पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि सम्बन्धित तहको अधिवेशन र महाधिवेशन तोकिएको अवस्थामा पोख्रेललाई हटाई पौडेललाई जिम्मेवारी दिने कार्य विधान प्रतिकूल रहेको उल्लेख गरेका छन् ।

साथै उनले नवलपरासी (पश्चिम) जिल्ला विधानको व्यवस्थाबमोजिम पोख्रेल कार्यवाहक सभापति रहेको समितिलाई नै यथावत कायम राख्न अनुरोधसमेत गरेका छन् ।

महामन्त्री कोइरालाले सहमति बिना विधानमा तोकिएबाहेकका विभाग बनाइनु, पार्टीमा केही साथीलाई केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिनेतर्फ पनि सभापतिको ध्यानाकर्षण गराएका छन् ।

हेर्नुस् पत्र