डीएसपीदेखि एआइजीसम्म नम्बर 'वान': को हुन् शैलेश थापा ? - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

डीएसपीदेखि एआइजीसम्म नम्बर ‘वान’: को हुन् शैलेश थापा ?



काठमाडौं – सरकारले नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ । महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो ।

मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेकाे हाे । उनको कार्यकाल २२ महिनाको हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् ।प्रधानमन्त्री ओलीले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गरेका हुन् ।

को हुन् क्षत्री ?

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । उनले धेरैजसो समय महानिरीक्षकको सचिवालय र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिताएका छन् ।

वि.स २०२५ मंसिर २३ मा भक्तपुरको कटुन्जेमा जन्मिएका थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए। संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा बोस्निया हर्जगोभिया, पूर्वी तमोर र डार्फर सुडानमा पनि काम गरेको अनुभव थापासँग रहेको छ।

इन्स्पेक्टर हुँदा उनले सिन्धुपाल्चोक, सल्यान र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काम गरेका थिए। उनी डीएसपीदेखि एआइजीसम्म नै एक नम्बरमा रहँदै आएका छन्। उनी प्रहरी नायव उपरिक्षक (डिएसपी) मा बढुवा भएपछि धादिङ र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काम गरेका थिए।

एसपी हुँदा उनी कास्की, झापा पुगेका थिए। एसएसपी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए भने नेपाल प्रहरीको प्रवक्ताको रुपमा कार्यरत थिए।

२०७६ फागुन १५ गते क्रमशः दोस्रो नम्बरमा एआइजी बढुवा भएका उनी प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारीको रुपमा थापा मानिन्छन्।

प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा हेरिन्छन्।

थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए । हाल उनि मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन् ।

पाँच महानिरीक्षकसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमाण्डको कार्यान्वयनमा सफल मानिन्छन् । त्यस्तै थापा सुडान, पूर्वी टिमोर र बोस्निया मिसनमा समेत गएका थिए ।

उनको कार्यकाल ०७९ वैशाख १९ गतेसम्म हुनेछ । थापालाई तत्कालिन आईजीपी सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले पत्ता लगाउन नसकेको निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने चुनौती र अवसर दुवै छ ।

प्रहरी संगठनको कर्तव्यप्रति अडिग रहने थापाको राजनीतिक नेतृत्वसंग भने त्यति घनिष्ठ सम्बन्ध नभएको उनलाई नजिकबाट चिन्नेहरु बताउंछन् । । थापाले प्रहरी संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

क्षत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए । त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भए । थापा यसअघी प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा एसपी भएर काम समेत गरेका थिए ।

थापासँगै जागिर सुरु गरेका ६० जनामध्ये केही अहिले डीआईजी छन् । अरु एसएसपी र एसपीमा रोकिएका छन् ।

हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । प्रहरी मुख्यालयले नयां आईजीपीको स्वागत र हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको विदाई कार्यक्रममा उपस्थित हुन सातै प्रदेशका डिआईजीलाई काठमाडौं बोलाइसकेको छ ।