सीमामा सयौँ भारतीय आएर सशस्त्र प्रहरीमाथि गरे आक्रमण - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

सीमामा सयौँ भारतीय आएर सशस्त्र प्रहरीमाथि गरे आक्रमण



काठमाडौं- नेपाल भारत सिमानामा भारतीयहरूले नेपाली सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् ।

बाराको कबहीगोठस्थित नेपाल-भारत सीमामा हुल का हुल भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्।

बिहीबार दिउँसो करिब सय जना भारतीय नेपाल प्रवेश गरी सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिए।

‘पहिले दुई जना खेतिपाती गर्ने भनेर नेपाल प्रवेश गर्न खोजेका रहेछन्,’ उनले भने, ‘सीमामा ड्युटीमा रहेकाले उनीहरूलाई आउन नदिएपछि फर्किएर गएर अरू मानिस बोलाएछन्।’

भीडमा आएकाहरूले सशस्त्र प्रहरीको चेकपोष्टमा ढुंगामुढा गरेका थिए। ढुंगामुढाबाट चेकपोष्टमा क्षति पुगेको छ। हवाई फायरपछि भारतीयहरू भागेको डिआइजी श्रेष्ठले बताए।

उनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने बढेपछि दुबै पक्षका सुरक्षा अधिकारीबीच अहिले छलफल भइरहेको छ।