एसईई परिक्षा स्थगित नगरिने
काठमाडौं- सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण एसईई परिक्षा स्थगित गर्नेबारे तयारी गरेको थियो । तर सबै तयारी पुरा भैसकेको र कोरोनाको सङ्क्रमण नेपालमा नदेखिएकोले नरोक्ने बताइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।
६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् । १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।
पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्री पोखरेलले जानकारी दिए ।
‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ ।’ जारी अपिलमा भनिएको छ ।
मन्त्रालयले विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ ।
साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपील गरेको छ ।