एसईई परिक्षा जेठको अन्तिम साता
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले यस्तो सिफारिस गरेको हो ।
अब परीक्षा गर्दा परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनुपर्ने कार्यदलको सिफारिस छ । यसो गर्दा पनि हिमाली र पहाडी जिल्लाका कतिपय विद्यालयलाई परीक्षा केन्द्रको मान्यता दिइनेछ ।
कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख गरेको छ ।
एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् । चैत ६ मा परीक्षा लिने गरी १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) का कारण चैत ५ गते बेलुकी मात्र एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको थियो ।
परीक्षाको नतिजा भने ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको बताएले छ ।
कार्यदलकाअनुसार कक्षा ११ को परीक्षा भने केही समयपछि मात्र सञ्चालन गर्दा हुन्छ ।
साथै एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट)मा गर्न पनि सिफारिस गरेको छ ।
यसैगरी कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा भने चैत २५ गतेभित्र प्रकाशित हुने भएको छ ।