शैक्षिक संस्थाहरु फेरि बन्द गर्नेबारे छलफल - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

शैक्षिक संस्थाहरु फेरि बन्द गर्नेबारे छलफल



काठमाडौं- कोरोना महामारीका कारण विद्यालयलगायत शैक्षिक संस्थाहरु फेरि बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै शिक्षा मन्त्रालयमा यसबारे छलफल भएको बुझिएको छ ।

नेपालको छिमेकी मुलुक भारतमा नयाँ भेरियन्टको कोरोना संक्रमण भयाबह बन्दै गैरहेको र नेपालमा पनि यसको संक्रमण फैलिएको निष्कर्ष सहित यस्तो छलफल भएको बताइएको छ।

यसअघि स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह समेत गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो । पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ ।

देशभरका अधिकांश विद्यालय फागुनयता संचालनमा छन् । धेरै विद्यालयहरूमा जनस्वास्थ्यका मापदण्ड पालना नगरिएको समेत मन्त्रालयमा छलफल भएको बताइएको छ । तर, कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

कोरोना भाइरसको दोस्रो लहर आएपछि अस्पतालहरुमा विरामीको चाप बढेको छ । योसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने स्थानहरुमा जनस्वास्थयको मापदण्डमा अति कडाइका साथ पालना गरेर मात्र सञ्चालन गराउने व्यवस्थाको आग्रह गरेको छ ।